काठमाडौं । सुशीला कार्की नेतृत्वको सरकार गठन भएपछि देशभित्र र बाहिर लुकाइएका भ्रष्टाचारको पैसा कसरी निकालिन्छ भन्ने चासो बढेको छ । देशभित्र रहेका भ्रष्टाचारको रकम निकाल्न कठिन छैन । सरकारले इमान्दारपूर्वक छानबिन बढाएमा भ्रष्ट नेतादेखि कर्मचारीसम्मले लुकाएको धन निस्कन्छ । त्यस्ता भ्रष्टाचारीले नातेदार, विश्वासपात्रदेखि व्यापारीलाई धन लुकाउन दिएका छन् । ती पात्रको सम्पत्ति छानबिन गरेमा सबै तथ्य बाहिर आइहाल्छ ।

विदेशमा लुकाइएको धनबारे अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विगतमा गोप्य तरिकाले छानबिन बढाएको थियो । आइटी माफिया विकल पौडेलले विदेशमै घुस दिएर भ्रष्ट नेता र कर्मचारीबाट काम लिएको तथ्य पत्ता लागेको थियो । सिंगापुरको बैंक एकाउन्टमा रकम ट्रान्सफर गरिएको तथ्य पत्ता लागेको थियो ।
विकलको समूहले देशको शक्तिशाली नेताको परिवारका सदस्यलाई समेत रकम ट्रान्सफर गरेको तथ्य अख्तियारसम्म पुगेपछि घटना गम्भीर मोडमा पुग्यो । तर, त्यसलाई सामसुम पार्न शक्तिको दुरुपयोग भयो । पछि अख्तियार प्रमुख प्रेम राईले विदेशमा लुकाइएको भ्रष्टाचारबापतको धन खोज्न साथ र सहयोगको आग्रह पनि गरेका थिए । तर, उनले मागेबमोजिमको साथ पाएनन् ।
नेपालमा ठेक्कापट्टासम्बन्धी घुसको लेनदेन गराउने एउटा गिरोह दुबई, सिंगापुर, हङकङ, थाइल्यान्डजस्ता स्थानहरूमा मुकाम नै बनाएर बसेका छन् । कतिपयले स्वीटजरल्यान्डमै घुसको लेनदेन गरेर लुकाएको विषय पनि लुकेको छैन । स्वीटजरल्यान्डको बैंकहरूमा नेपालीको कालो धनबारे धेरै तथ्य विगतमा बाहिर आयो । कालो धनको स्वर्ग मानिने विभिन्न देशहरूमा पनि अरबौं रुपैयाँ बराबरको डलर नेपालीले राखेको तथ्य विगतमा सार्वजनिक भएको थियो ।
त्यस्ता कालोधन भ्रष्ट नेता र कर्मचारीसँग जोडिएका छन् । नेपालीको धन स्वीजरल्यान्डको बैंकमा दशौं अर्ब रहेको प्रतिवेदनमै उल्लेख छ । यसरी लुकाइएका धनबारे तथ्य पत्ता लगाएर सरकारले कसरी फिर्ता ल्याउन सक्छ भन्ने चासो बढेको छ ।
सरकारले चाहेमा कूटनीतिक माध्यमले नेपाली नागरिकले दुबई, सिंगापुर, हङकङ, बैंककजस्ता शहरमा खोलेको एकाउन्टबारे जानकारी माग्न सक्छ । स्वीटरल्यान्डले मात्र त्यस्तो एकाउन्टको विवरण दिन मान्दैन । उसको कानुन नै बैंकिङ गोपनियता राख्ने खालको छ । सरकारले परराष्ट्र मन्त्रालयमार्फत पत्र नै लेखेर नेपालीहरूको एकाउन्टको विवरण मागेमा भ्रष्टाचार गरेर लुकाइएका धनको धेरै तथ्य खुल्छ ।
विगतमा भारतले युएईलाई त्यस्तै पत्र लेखेर विदेशमा लुकाइएका भारतीय नागरिकको धनबारे जानकारी लिएको थियो । एकहजारभन्दा बढी धनाढ्य भारतीयको युएईमा रहेको धनसम्पत्तिबारे खुलेको थियो ।
नेपाललिक्समा पानामा पेपर्स, पाराडाइज पेपर्स र स्विस लिकको विवरणलाई समेत आधार मानेर नेपालीहरूको विदेशमा रहेको कालोधनबारे उल्लेख थियो । कालोधनको स्वर्गका रुपमा चिनिने स्वीजरल्यान्ड, द ब्रिटिस भर्जिन आइल्यान्ड्स, सिसेलिस र युएईमा समेत लुकाइएको भेटियो ।
नेपाली नागरिकको ४५ करोड डलर त स्वीजरल्यान्डमा मात्र भेटियो । ती देशहरूसँग नेपालको सूचना आदानप्रदानको सम्झौता छैन । त्यसकारण कसले कति धन लुकाएको छ भन्ने पत्ता लाग्न सकेको छैन । सिआइजेले वीरेन्द्र महतो, उपेन्द्र महतो, निरजगोविन्द श्रेष्ठ, अजयराज सुमार्गीको नाम मनि लन्ड्रिङ गर्नेमा उल्लेख गरेको थियो ।
एनसेलमार्फत् कर छलीदेखि विदेशमा धन लाने गतिविधि भएको तथ्य देखाइएको थियो । लक्ष्मीबहादुर श्रेष्ठकी पत्नी विनु श्रेष्ठको नाममा कालो धन विदेशमा लुकाइएको तथ्य खुलेको थियो । कर छलीको स्वर्ग मानिने ब्रिटिश भर्जिन आइल्यान्डमा विनोदकुमार चौधरीले कम्पनी खडा गरी सारिका देवी, निर्वाण, वरुण र राहुलको नाममा राखेको विषय खुलेको थियो । लोकमन्या गोल्छा, महेन्द्रकुमार गोल्छा, दिवाकर गोल्छा, चन्द्रकुमार गोल्छा र हितेष गोल्छाको पनि कम्पनी उक्त देशमा भेटिएको थियो ।
अजय सुमार्गी, अर्जुनप्रसाद शर्मा, किशोर राना, राजेन्द्र शाक्य, सुधीर मित्तल, सुरिधराज घिमिरे, पुरुषोत्तम पौडेलका अलावा नेपालीमूलका बेलायती नागरिक जनक डानियल बस्नेत, निवर्तमान सांसद राजेन्द्र बजगाईँको पनि ट्याक्स हेभन देशमा कम्पनी भेटिएको थियो । यसरी विदेशमा धन लान गैरकानूनी तरिकाले कम्पनी खडा गर्नेहरुले भ्रष्टाचार, कर छली र ठगीको कालोधनलाई सेतो बनाउने गर्दै आएका छन् । संगठित रुपमा विदेशमा रकम लाने गिरोहलाई कारबाही गर्न र भ्रष्टाचारबाट जम्मा गरिएका धन नेपाल ल्याउन सजिलो नभए पनि असम्भव छैन ।











