Logo
Logo

पीडालाई शक्तिमा बदल्ने समय


189
Shares

यो, हिन्दू नेपालीहरूको महान् चाड दसैँ-तिहारको रौनक छाउने समय हो । चङ्गा उडाउने, मिठा खानेकुरा बनाउने, नयाँ लुगा किन्ने उत्साह जाग्नुपर्ने बेला हो । तर, आज देशभरि चित्कार छ । आँसु बगिरहेको छ । सडकमा रक्ताम्मे ‘छोराहरू’ लम्पसार परेका छन् ।

गत भदौ २३ र २४ गते नयाँ पुस्ता जेनजीहरूले भ्रष्टाचार र कुशासनविरुद्ध आवाज उठाएका थिए, प्रश्न गरेका थिए, न्याय मागेका थिए । तर, सत्ताको घमन्डले उनीहरूलाई जवाफस्वरूप गोली थमायो । र, ७४ निर्दोष युवाहरूले अनाहकमा ज्यान गुमाए ।

दसैँको अष्टमी दिन देवीको पूजा गरिन्छ, बोकाहरू बलि चढाइन्छन् । ठीक त्यसरी नै परिवर्तनको आन्दोलनमा ती युवाहरू बोकाझैँ चढाइए । उनीहरूलाई ‘राष्ट्रिय सहिद’ भनियो । तर, ती आमाहरूका लागि त्यो शब्द भन्दा गहिरो पीडा हो । उनीहरूलाई ‘अब मेरो छोराको अनुहार कहिल्यै देख्दिन’ भन्ने चिन्ताले भित्रभित्रै मारिरहेको छ ।

अब ती अनुहारहरू फर्किने छैनन् । केवल तस्बिरमा सीमित रहनेछन् । जुन तस्बिर हेर्दा आँखा रसाउने छ । छाती चिरिने छ । आत्मा तड्पिने छ । हराएको केवल ज्यान मात्रै होइन, अनगिन्ती सपना पनि हुन् । जुनसँगै जलाएर खरानी बनाइयो । वृद्ध बाबुआमाले सहारा गुमाए । कति सन्तानहरूको भविष्यको पिलर ढल्यो । कति महिलाको सिन्दूर पुछियो, कति कोख रित्तियो ।

देशका गल्ली–चोकहरूमा बगेको त्यो रगत रङ्ग मात्र होइन, त्यो देशको भविष्य हो, जुन हाम्रो आँखैअगाडि सखाप बनाइयो । अस्पतालका शैय्यामा अहिले पनि सयौँ युवा जीवनसँग संघर्ष गरिरहेका छन् । कतिजना कहिल्यै आफ्नै खुट्टामा उभिन सक्ने छैनन् ।

यो पीडा अझ गहिरो हुन्छ, जब हामी ती नानीबाबुहरूको बारेमा सोच्छौँ, जो स्कूलका विद्यार्थी थिए । भविष्यका उज्ज्वल ताराहरू थिए, तर त्यो उज्यालो सडकमै निभाइयो । जीवन आफैँ किताबजस्तै बन्द गरियो । अब उनीहरू प्रश्न गर्दैनन्, मौनताका मूर्तिमा परिणत भएका छन् ।

यहीबेला दसैँ–तिहारजस्ता महान चाडहरू घरको ढोका ढकढक्याउँदै आएका छन् । दसैँ नेपालीहरूको साझा भावना हो । माया बाँड्ने, टाढिएका हातहरू फेरि समाउने, आशीर्वादले मन थाम्ने चाड । तर, यो वर्षको दसैँ केही अलग छ । योपटक घर फर्कने बाटोमा खुसी छैन । अनुहारमा मुस्कान छैन । थकित आँखामा आँसु छन् ।

रगतले रंगिएको सडकले अझै न्याय मागिरहेको छ । सहिद युवाहरूका चिच्याहटहरू अझै हावामा गुन्जिरहेका छन् । आशीर्वाद थाप्ने निधारहरूमा आक्रोशको पसिना झरिरहेछ । जब छातीमा गोली लागेर ढलेका युवाहरूको छायाँ देशभर फैलिएको छ, तब हाम्रो खुसी मौनताभित्र बिलाइरहेको छ ।

साँचो भनौँ भने यो साल देश ‘जुठो’ परेको छ– अर्थतन्त्रमा, भावनामा र नैतिकतामा । धेरैका लागि यसपालिको दसैँको टीका बोझजस्तै लाग्छ । मिठा परिकार पनि बेस्वाद लाग्छन् । यस्तो संवेदनशील समयमा दसैँको रमझम, टीका–जमरा, नयाँ लुगा र परिकारको कुरा गर्दा कताकता मनमा अपराधबोध जाग्छ ।

देशको आजको अवस्था देख्दा मन कतै रमाउनै मान्दैन । हर्षको पर्वभन्दा पहिले पीडाले छोप्छ । जब, सडकमा आफ्नै देशका सपनाहरू बोकेका युवाहरूको छाती चिरेर गोली घुस्छ । जब जनताको आवाजलाई बन्दुकले चुप लगाइन्छ । यस्तो घडीमा, हामी कसरी विजयको दसैँ मनाउन सक्छौँ ?

तर, एकमनले दसैँ मनाउनै पर्छ भन्ने पनि लाग्छ । उही पुरानो शैलीमा होइन । यो दसैँ अलिक फरक होस् । टीकामा केवल आशीर्वाद होइन, चेतनाको रङ पनि लागोस् । जमरासँगै क्रान्तिको हरियाली पलाउनुपर्छ । अनि खसी काट्ने परम्पराभन्दा ठूलो शत्रु भ्रष्ट व्यवस्था काट्नुपर्छ ।

जेनजी आन्दोलन कुनै क्षणिक आक्रोश होइन, यो त पुस्ताको मुटुबाट उर्लिएको गहिरो पुकार हो । निराशाको आगोमा जलेर पनि यो पुस्ता चुपचाप सहेर बस्दैन, बरु आफ्नो पीडालाई शक्तिमा बदल्छ । यस्तो बेलामा दसैँ केवल संस्कृतिको रङ्गिन परम्परा होइन, यो त हाम्रो मनको गाँठो खोल्ने, देशका सन्तानहरूको आँसु पुछ्ने र परिवर्तनको दीप बाल्ने पवित्र अवसर हो । तसर्थ, दसैँ मनाऔँ, तर केवल भोजको मिठास र बिदाको उल्लासका लागि होइन । यो मनाउनुहोस्, ताकि हामी पीडितहरूको आर्तनादसँगै उभिन सकौँ, ताकि हामी जुठो भएको यो देशलाई फेरि पवित्र बनाउने संकल्प लिन सकाँै ।

जेनजी आन्दोलनले भ्रष्टाचार, बेरोजगारी, सामाजिक असमानता र अवसरको खडेरीले थिचिएको यो देशको सत्य उजागर गरेको छ । उनीहरूको यो लडाइँ केवल विद्रोह होइन, यो त देशको आत्मालाई बचाउने संग्राम हो ।

दसैँ केवल रमाइलो र उत्सवको पर्व मात्र होइन । यो त परिवार, समुदाय र एकताको प्रतीक हो । यो पर्वले हामीलाई हाम्रो जरा, हाम्रो संस्कृति र हाम्रा मूल्यहरूसँग जोड्छ । जेनजी आन्दोलनले जागरूकता र परिवर्तनको माग गरे जस्तै, दसैँले पनि हामीलाई नयाँ ऊर्जा र आशा दिन्छ ।

त्यसैले यो दसैँमा जब हामी आफ्ना प्रियजनहरूसँग जम्मा हुन्छौँ, आँखामा आँसु र मनमा उथलपुथल लिएर देशको अवस्थाबारे गम्भीर छलफल गरौँ । टीकाको रातो रङले हामीलाई परम्पराको मात्र होइन, परिवर्तनका लागि बगेको रगतको बलिदान सम्झाओस् । यो दसैँलाई खानपिन र रमझममा मात्र सीमित नराखौँ, बरु देशको घाउमा मलहम लगाउने, नयाँ नेपाल बनाउने पवित्र सङ्कल्पको अवसर बनाऔँ ।

जेनजीको आन्दोलनले ओली नेतृत्वको सरकार ढालेको छ, नयाँ सरकार बनेको छ, तर यो लडाइँको असली जित अझै बाँकी छ । आगामी फागुन २१ को निर्वाचन हाम्रो आन्दोलनको कठिन परीक्षा हुनेछ । प्रश्नपत्र बनाउने र उत्तरपुस्तिका जाँच्ने शक्ति जनताको हातमा छ । नेताहरूलाई पास वा फेल गराउने जिम्मा तपाईँ हाम्रै हो ।

तपाईंको एक मतले देशको भविष्य निर्धारण हुन्छ । नेतालाई मत दिनु भनेको देशको बागडोर सुम्पनु हो । त्यसैले यो दसैँमा आत्मसमीक्षा गरौँ । हिजो हामीले दिएको अनुमतिले देश बनेको छ कि भत्किएको छ ? सहिदहरूको बलिदानको कदर भएको छ कि अपमान ? विगतको लेखाजोखा गरौँ ।

यो दसैँको टीका केवल आशीर्वाद होइन, परिवर्तनको लागि लड्ने अटल शक्ति बनोस् । अन्यायको अँध्यारो हटाउने प्रण गरौँ । दसैँको उज्यालोले हाम्रो मनमा आशा, साहस र जेनजी आन्दोलनको जोशको दियो बालोस् । सहिदहरूको सपनालाई जीवित राख्ने, नयाँ नेपाल निर्माण गर्ने पवित्र प्रतिबद्धताको दसैँ बनोस् । टीकाको रातो रङलाई परिवर्तनको रगतसँग जोडेर, देशका लागि जिउने र लड्ने प्रण गरौँ ।

अर्को भन्नैपर्ने कुरा– यो दसैँमा गाउँ नफर्कँदा त केही बिग्रँदैन । तर, फागुनमा मतदान गर्न फर्किएनौँ भने सबै गुम्नेछ । जेनजीको आन्दोलनको आगो निभ्नेछ । ७४ सहिदको रगत बागमतीको ढलमा बगेजस्तै बेकार हुनेछ । र, नयाँ नेपालको सपना चकनाचुर हुनेछ । त्यसैले शहीदहरूको सपना साकार पार्ने, नयाँ नेपाल निर्माण गर्ने प्रणसाथ अघि बढौँ । दसैँ गाउँ फर्कौँ÷नफर्कौँ तर आगामी निर्वाचनमा चाहिँ जरुर फर्कौँ । देश बनाउन हरेकले योगदान गरौँ ।

प्रतिक्रिया दिनुहोस्