Logo
Logo

बालुवाटारबाट पाँच मिनेट मात्र निस्कन ढिलो भएको भए मार्ने थिए : ओली


7.1k
Shares

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलील गत भदौ २४ गते पाँच मिनेटमात्रै बालुवाटारबाट निस्कन ढिला भएको भए आफूलाई मार्ने योजना रहेको बताएका छन् । अध्यक्ष ओलीले लोकतान्त्रिक आदिवासी जनजाति महासंघ नेपालका अध्यक्ष पासाङ शेर्पासहितको समूहसँगको भेटमा यस्तो दावी गरेका हुन् ।

फाइल फोटो

उनले त्यो दिन प्रदर्शनकारीले आफूलाई मार्ने योजना बनाएको भन्दै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई घाइते बनाउने योजना रहेको बताए । ओलीले भने, ‘यसपटक पाँच मिनेट मात्र ढिला भएको भए मार्ने थिए । शेरबहादुरजीलाई घाइते बनाउने र मलाई मार्ने खालकै योजना थियो ।’

उनले सत्ता नै पल्टाउने घटना भएकाले आफूले तयारी नै गर्न नपाएको बताउँदै भने, ‘मैले आफ्नो तयारी पनि गर्न पाइनँ ।’ सुरक्षाकर्मीहरूमाथि केही भरोसा भएको तर प्रदर्शन चर्किंदै गएपछि सुरक्षा संयन्त्रले केही पनि गर्न सक्दिनँ भनेको बताउँदै उनले भने, ‘सेक्युरिटीमाथि मलाई अलिकति भरोसा भयो, सेक्युरिटीले हामी केही पनि गर्न सक्दैनौं, केही पनि गर्दैनौं भन्यो ।’ उनले अन्तिममा नेपाली सेनाले सुरक्षा दिएर भगाएको बताए ।

ओलीले भदौ २४ गते प्रदर्शन हिंसात्मक बन्दै गएपछि दिउँसो २ बजे प्रधानमन्त्रीबाट राजीनामा दिएका थिए । त्यसलगत्तै उनलाई नेपाली सेनाले हेलिकोप्टरमार्फत् शिवपुरी पु¥याएको थियो ।

उनले जेनजी आन्दोलनप्रति लक्षित गदै भने, ‘अब यस प्रकारको देशै जलाउने खालका आपराधिक घटनाहरू, यो त महाआपराधिक घटना हो ।’ उनले एमालेले यस्ता घटना अब हुन नदिने पनि बताए । ओलीले भने, ‘हामी एमाले हुँदाहुँदै अब कुनै पनि हालतमा यस्ता घटना हुन दिँदैनौं । एमाले हुँदाहुँदै सिंहदरबार जलाउने ?’ यसपटक एमालेको कमजोरी हुँदा देशका सम्पत्तिको रक्षा गर्न चुकेको उनको भनाई थियो ।

प्रतिक्रिया दिनुहोस्