काठमाडौं । नेकपा एमालेका पोलिटब्युरो सदस्य महेश बस्नेतले संविधानमाथि आक्रमण गर्ने प्रयास भइरहेको भन्दै आफ्नो पार्टीले त्यसलाई रोक्ने दृढता व्यक्त गरेका छन् । शनिवार भक्तपुरको गुण्डुमा युवा सङ्घ नेपालले आयोजित शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।

उनले भने, ‘नेकपा एमाले, युवा सङ्घ, नेपाली कांग्रेस र लोकतान्त्रिक शक्तिहरू एकजुट छन् । हामी लोकतन्त्र र संविधानमाथिको आक्रमणलाई कदापि सफल हुन दिँदैनौँ । हामी संसदीय व्यवस्था ध्वस्त पार्ने र मुलुकको राष्ट्रियता कमजोर बनाउने कुनै पनि प्रयासलाई रोक्नेछौँ ।’
उनले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) को गतिविधिलाई पनि असफल पार्ने दाबी गरे । ‘हामी नेपाललाई विदेशी शक्तिको रणभूमि बन्न दिँदैनौँ । जेनजी पुस्तालाई अन्तर्राष्ट्रिय एजेन्टको फन्दामा फसाएर अपराध र आतङ्कवादको बाटोमा लैजाने बालेनको खेललाई हामी सफल हुन दिँदैनौँ,’ उनले भने ।
बस्नेतले पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिएपछि सिंहदरबार, संसद् र सर्वोच्च अदालतमा आगजनी भएको दाबी गर्दै देशलाई अस्थिरतातर्फ धकेल्ने षड्यन्त्र भएको आरोप लगाए । ‘ओलीले राजीनामा नदिँदासम्म यी संस्थाहरू सुरक्षित थिए । तर, राजीनामा दिएपछि यी ठाउँमा आगजनी भयो । २१ जनाको हत्या भयो, एम्बुलेन्सबाट गोली चल्यो, स्कूल ड्रेसमा गोली हान्नेहरू सक्रिय भए, प्रहरीसँग मिल्दोजुल्दो हतियार बरामद भयो र हजारौं प्रहरीका हतियार लुटिए,’ उनले भने, ‘यो सबै देशलाई अराजकतामा फसाउने नियोजित प्रयास हो ।’














