Logo
Logo

ओलीलाई गुण्डुमा गुण्डा भेला गर्न छाडेर माफी मागेर बिदा हुनु प्रभु साहको सुझाव


2k
Shares

काठमाडौं । आम जनता पार्टी (आजपा) का अध्यक्ष प्रभु साहले नेकपा (एमाले) का नेता केपी शर्मा ओलीको हठ, घमण्ड र अहङ्कारले मुलुक र एमालेलाई सङ्कटमा पारेको आरोप लगाएका छन् । सर्लाहीको लालबन्दीमा शनिबार आयोजित आजपा मधेस प्रदेश कमिटीको बैठक तथा दसैँ, दिपावली र छठ शुभकामना कार्यक्रममा बोल्दै साहले ओलीले सार्वजनिक माफी मागेर राजनीतिबाट संन्यास लिनुपर्ने सुझाव दिए ।

The current image has no alternative text. The file name is: parbhu-shaha.gif

उनले भने, ‘ओलीको अहङ्कारले मुलुक र एमाले डुब्यो । गुन्डाहरू भेला गर्नुको साटो माफी मागेर बिदा हुनु एमालेको हितमा छ ।’ साहले एमालेले ओली र नेपाली कांग्रेसले शेरबहादुर देउवालाई अगाडि नसार्न आग्रह गर्दै यी नेताहरूलाई राजनीतिबाट स्थायी बिदाइ गर्नुपर्ने बताए । उनले देउवा दम्पत्तिमाथि देशप्रेमको कमी भएको र सङ्कटका बेला नयाँ पासपोर्ट बनाएर भाग्ने तयारी गरेको आरोप लगाए ।

साथै, नेताहरूको घरबाट भेटिएको पैसा र नोट जलेको विषयमा सरकारले सत्यतथ्य सार्वजनिक गर्नुपर्ने माग गरे ।उनले अहिलेको संविधानले मुलुकको समस्या समाधान नहुने भन्दै अन्तरिम सरकार र संविधानबाट निकास खोज्नुपर्ने बताए । साहले भ्रष्टाचारबाट आर्जित सम्पत्ति देखाउने नेतालाई जनताले जवाफ दिने चेतावनी दिँदै भने, ‘जनता नायक हुन्, भ्रष्ट नेता फिल्मका खलनायकजस्तै छन् । अन्त्यमा जनताकै जित हुन्छ ।’ देशमा अनिश्चयको वातावरण र शक्ति राष्ट्रहरूको चलखेल बढेको उल्लेख गर्दै साहले नेपाली सेनाको राजनीतिक सक्रियतालाई अस्वीकार्य बताए ।

उनले सरकारमा नयाँ अनुहार र जनआन्दोलनका सहिद परिवारको प्रतिनिधित्व आवश्यक रहेको जोड दिए । साथै, प्रधानमन्त्री सुशीला कार्कीलाई जनविद्रोहलाई कलङ्कित नपार्न चेतावनी दिँदै देशको सार्वभौमसत्ता र स्वाधीनताको रक्षा पहिलो कर्तव्य भएको बताए ।

प्रतिक्रिया दिनुहोस्