काठमाडौं । राष्ट्रिय मानवअधिकार आयोगले दसैँ, दीपावली र छठ पर्वका बिदामा पनि आफ्ना कार्यालयहरू खुला राख्ने भएको छ । मानवअधिकार उल्लङ्घनका उजुरी दर्ता गर्न र आकस्मिक घटनाको अनुगमन गर्न आयोगको केन्द्रीय कार्यालय, हरिहरभवन, ललितपुर र प्रदेश शाखा कार्यालयहरू बिदाका दिनमा बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म खुला रहनेछन् ।

आयोगले मानवअधिकार उल्लङ्घनका घटना भएमा नजिकको कार्यालयमा तुरुन्त जानकारी गराउन सर्वसाधारणलाई अनुरोध गरेको छ । चाडपर्वको समयमा सर्वसाधारणको आवतजावतमा कठिनाइ, अपराधका घटनामा वृद्धि, महँगी, कालोबजारी र सार्वजनिक सेवा प्रवाहमा अवरोध हुने सम्भावनाप्रति आयोगले सरकारको ध्यानाकर्षण गराएको छ ।
आयोगले सरकारलाई शान्तिसुरक्षा मजबुत बनाउन, सेवा प्रवाहलाई चुस्त र प्रभावकारी बनाउन र चाडपर्वमा हुने सम्भावित समस्या समाधान गर्न निर्देशन दिएको छ । साथै, यी कार्यमा सहयोग गर्न सम्बद्ध सबै पक्षलाई आग्रह गरेको छ । मानवअधिकार संरक्षण र प्रवर्द्धनका लागि आयोगको यो कदमले चाडपर्वको समयमा पनि नागरिकका गुनासा र समस्यालाई तत्काल सम्बोधन गर्ने लक्ष्य राखेको छ ।














