काठमाडौं । नेपाली राष्ट्रिय महिला टिमकी कप्तान तथा गोलकिपर अञ्जिला तुम्बाप्पो सुब्बा भारतीय क्लब सेथु एफसीमा आवद्ध भएकी छन् ।

क्लब र अञ्जिलाबीच आधा सिजनको लागि सम्झौता भएको हो । अञ्जिला भारत पुगेर अभ्यास पनि सुरु गरिसकेकी छन् ।
अञ्जिला तेस्रो पटक भारतीय लिग खेल्न लागेकी हुन् । यसअघि पनि उनले सेथुबाट खेलेकी थिइन् । सन् २०२३–०२४ को सिजनमा भने अञ्जिला टोलीको कप्तान नै थिइन् ।
पछिल्लो सिजन भने उनले युरोपेली लिग खेलेकी हुन् । युरोपेली लिग खेल्ने दोस्रो नेपाली खेलाडी बनेकी उनले ग्रीसको निस अट्रोमिटौबाट एक सिजन खेलेकी हुन् ।
यसपटक विभागीय टोली शसस्त्र प्रहरी बलको एपिएफ क्लबबाट एएफसी महिला च्याम्पियन्स लिगको छनोट खेल पनि खेल्न भ्याइन् । तर, ताजकिस्तानमै रहँदा सम्झौता गर्न नपाएपछि उनी आधा सिजनपछि मात्रै युरोपेली लिगको लागि आवद्ध हुने तरखरमा छन् ।
नोभेम्बरबाट सुरु हुने भारतीय महिला लिगमा पूर्व विजेता इष्ट बंगालसहित आठ टिम सहभागी हुँदैछन् । भारतीय लिग हालसम्म गोकुलम केरेलाले सर्वाधिक ३ पटक जितेको छ ।











