काठमाडौं । नेपाल पर्यटन बोर्डले बदलिँदो प्राकृतिक अवस्थाबारे पर्यटक, टुर अपरेटर र स्थानीय समुदायलाई सतर्क रहन आग्रह गरेको छ । बोर्डले जारी गरेको सूचनामा पर्यटकहरूलाई आधिकारिक मौसम र यात्रा अपडेट अनुसरण गर्न, दर्तावाल कम्पनी र अनुमतिप्राप्त गाइडसँग मात्र यात्रा गर्न र सडक तथा गन्तव्यको अवस्था बुझेर यात्रा गर्न अनुरोध गरिएको छ ।

कठिनाइ भएमा पर्यटक प्रहरीलाई ११४४ मा सम्पर्क गर्न सुझाइएको छ । टुर अपरेटरहरूलाई पर्यटकलाई मौसमी अवस्थाबारे जानकारी दिन, ड्राइभर र गाइडसँग नियमित सम्पर्क राख्न, रुट प्रमाणीकरण गर्न र स्थानीय अधिकारी तथा उद्धारकर्ताको सूची तयार राख्न बोर्डले निर्देशन दिएको छ ।
हाल नेपालमा करिब २०,००० पर्यटक घुमिरहेका छन् । उनीहरूलाई आवश्यक सहयोग गर्न स्थानीय समुदायलाई आग्रह गरिएको छ । बोर्डले पर्यटकसँग बढी शुल्क नलिन, खाना, आवास र अन्य सहयोग उपलब्ध गराउन पनि अनुरोध गरेको छ । यसले सुरक्षित र सुखद पर्यटन अनुभव सुनिश्चित गर्न मद्दत पुग्ने बोर्डको विश्वास छ ।











