Logo
Logo

नेकपा नेताका प्रतिष्ठानलाई गतिविधि गर्न रोक


- दृष्टि न्युज/संवाददाता



काठमाडौं, ३१ भदौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले आफ्ना नेताका नाममा खोलिएका प्रतिष्ठान वा संघसस्थालाई कुनै पनि गतिविधि नगर्न निर्देशन दिएको छ ।
पार्टीले अन्तरपार्टी निर्देशन–५ जारी गर्दै पार्टीका नेताका नाममा स्थापना भएका प्रतिष्ठान, फाउण्डेशन, अध्ययन केन्द्रजस्ता संस्थालाई प्रदेश, जिल्ला, र स्थानीय तहमा कुनै पनि शाखा गठन र गविविधि गर्न रोक लगाउने निर्देशन दिएको हो ।
नेकपाले ती नेताका नाममा खोलिएका प्रतिष्ठान वा संघसंस्थामध्ये अधिकांशले पार्टीभित्र गुटबन्दी गर्न थालेपछि अन्तरपार्टी निर्देशन – ५ मा रोक लगाउने निर्देशन दिएको हो । केन्द्रमा भने कुनै रोक लगाइएको छैन । पुष्पलाल, मनमोहन अधिकारी, तुलसीलाल अमात्य, मदन भण्डारी, जीवराज आश्रित, नरबहादुर कर्माचार्य, निर्मल लामा, सुरेश वाग्ले, कृष्णसेन इच्छुक मोतीदेवी, सहाना प्रधान, झलनाथ खनाललगायत नाममा त्यस्ता संस्था खोलिएका छन् । तिनमध्ये केहीका केन्द्रमा मात्र र केहीका जिल्लाहरुमा पनि शाखा खोलिएका छन् ।
‘पार्टीका विभिन्न नेताका नाममा विभिन्न प्रतिष्ठान वा संघसंस्थाहरु परिचालित छन् । तीमध्ये अधिकांश गुटबन्दीको माध्यम बन्दै गएका छन् । गुटबन्दी रोक्न प्रतिष्ठानलाई नियमन गर्न जरुरी छ’, अन्तरपार्टी निर्देशन–५ मा भनिएको छ । पार्टी सचिवालय बैठकले प्रतिष्ठानसम्बन्धी अध्ययन गर्न कार्यदल बनाएर प्रतिवेदन सार्वजनिक नगरेसम्म तिनका शाखा गठन र गतिविधि नगर्न निर्देशन दिएको हो ।
अन्तरपार्टी निर्देशन–५ मा सचिवालयले प्रतिष्ठानको सञ्चालन, व्यवस्थापन तथा नियमन विधि निश्चित गर्न स्पष्ट कार्यादेशसहितको कार्यदल गठन गर्ने उल्लेख गरिएको छ । कार्यदलको प्रतिवेदन प्राप्त भएपछि त्यसमाथि छलफल गरी प्रतिष्ठानबारे आवश्यक निर्णय गर्ने जनाइएको छ ।
नेकपा स्थायी कमिटी सदस्य वेदुराम भुसालले नेताका नाममा प्रतिष्ठान खोल्नु राम्रो भए पनि त्यसबाट पार्टीलाई नै नोक्सान पु¥याउने किसिमको गुटबन्दी गर्न नहुने बताए । उनले नेताका नाममा खोलिएका अधिकांशले पार्टीभित्र गुटबन्दी गर्न थालेपछि अंकुश लगाउनुपरेको स्पष्ट गरे । ‘नेताका नाममा खोलिएका प्रतिष्ठानले तिनै नेताको विचार र आदर्शलाई प्रचारप्रसार र तिनले पु¥याएको योगदानको चर्चा गर्दै वैचारिक बहस गर्नुपर्ने हो’, उनले भने, ‘तर त्यसरी खोलिएका प्रतिष्ठानले नेताहको विचार र आदर्शलाई भुलेर पार्टीभित्र गुटबन्दी गर्न थालेकाले व्यवस्थित बनाउन अहिलेलाई रोक लगाइएको हो ।’
प्रतिष्ठानले पार्टीको नीति बाहिर रहेर समानान्तर गतिविधि सञ्चालन गर्न थालेकाले व्यवस्थित बनाउन आवश्यक रहेको उनले बताए । नेताका नाममा स्थापना हुने प्रतिष्ठानलाई पार्टी मातहत ल्याएर सञ्चालन गर्नुपर्ने धारणा उनको थियो । तत्कालीन नेकपा (एमाले)ले पनि प्रतिष्ठानलाई व्यवस्थित बनाउनका लागि भुसालको संयोजकत्वमा कार्यदल गठन गरेको थियो ।

 

प्रतिक्रिया दिनुहोस्