काठमाडौं । भियतनाम विरुद्धको एएफसी एसियन कप छनोट खेल्न भियतनाम जाने नेपाली राष्ट्रिय फुटबल टोलीलाई बिदाइ गरिएको छ । सोमबार एन्फा कम्प्लेक्स सातदोवाटोमा आयोजित एक कार्यक्रमकाबीच राखेप सदस्य सचिव टंकलाल घिसिङ र एन्फा पदाधिकारीले नेपाली राष्ट्रिय फुटबल टोलीलाई बिदाइ गरेका हुन् ।

नेपालले भियतनामसँग असोज २३ र २८ गते दुई खेल खेल्नेछ । नेपालले होम म्याच दशरथ रङ्गशालामा खेल्नुपर्ने भएपनि दशरथ रङ्गशाला अझै अयोग्य रहेको कारण होम र अब दुवै खेल भियतनाममा नै खेल्न लागेको हो ।
बिदाइ कार्यक्रममा राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक म्याट रसले एसियन कप छनोटका लागि राम्रो तयारी भएको बताए । यसअघिको बङ्गलादेशसँग एक मैत्रीपूर्ण खेल राम्रो भएको भन्दै उनले भियतनामबिरुद्ध नेपाली टोली उच्च मनोवलका साथ मैदान उत्रने उल्लेख गरे ।
नेपाली राष्ट्रिय फुटबल टोलीमा आयुष घलान, कृतिश रत्न छुन्जु र सुमित महर्जन फर्किएका छन् । सनिश श्रेष्ठ र विमल पाण्डेले टोलीमा पुनरागमन गरेका छन् भने गोलकिपर विशाल सुनार यसपटकको टोलीमा समावेश भएका हुन् ।











