काठमाडौं । विश्व बैङ्कले चालू आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धिदर खुम्चिएर २.१ प्रतिशतमा झर्ने प्रक्षेपण गरेको छ । ‘साउथ एसिया डेभलपमेन्ट अपडेट’ प्रतिवेदनअनुसार भदौको चौथो हप्तामा भएको जेनजी प्रदर्शन, बाढी, पहिरोलगायतका कारणले अर्थतन्त्रमा सङ्कुचन आउने अनुमान गरिएको छ ।

वृद्धिदर १.५ देखि २.६ प्रतिशतसम्म सङ्कुचन हुने सम्भावना पनि विश्व बैङ्कले औँल्याएको छ । गत आर्थिक वर्षमा ३.७ प्रतिशत वृद्धि भएको नेपाली अर्थतन्त्रले यस वर्ष ४.६ प्रतिशत वृद्धि हासिल गर्ने अपेक्षा गरिएको थियो । तर, जेनजी प्रदर्शन, प्राकृतिक प्रकोप र अन्य कारणले वृद्धिदर घटेर २.१ प्रतिशतमा सीमित हुने अनुमान छ ।
यद्यपि, आगामी आर्थिक वर्षमा भने ४.७ प्रतिशत वृद्धिदर हासिल हुने विश्व बैङ्कको प्रक्षेपण छ । प्रतिवेदनले विदेशी पर्यटक आगमनमा कमी, प्रदर्शनका क्रममा भौतिक संरचनामा भएको क्षति र बीमा क्षेत्रमा परेको असरले अर्थतन्त्र प्रभावित हुने उल्लेख गरेको छ ।
साथै, कमजोर लगानी वातावरणले निजी क्षेत्रको लगानी र गैरजलविद्युतीय निर्माणमा नकारात्मक प्रभाव पर्नेछ । समयमा वर्षा नहुँदा धान उत्पादन प्रभावित भएकाले कृषि क्षेत्रमा पनि असर पर्ने विश्व बैङ्कको उपक्षेपण गरेको छ । यद्यपि, सरकारी प्रतिबद्धता र पुनर्निर्माणको सक्रियताले आगामी आर्थिक वर्षहरूमा आर्थिक सुधार हुने विश्व बैङ्कको अपेक्षा छ ।
दक्षिण एसियाको सन्दर्भमा, सन् २०२४ मा कुल गार्हस्थ्य उत्पादन वृद्धिदर ६.४ प्रतिशत थियो । यस वर्ष ६.६ प्रतिशत र सन् २०२६ मा ५.८ प्रतिशत वृद्धिदर हुने अनुमान छ । सन् २०२७ मा भने ६.५ प्रतिशतले वृद्धि हुने प्रक्षेपण छ । क्षेत्रीय रूपमा भुटानको वृद्धिदर ७.३ प्रतिशतसहित सबैभन्दा उच्च र नेपालको २.१ प्रतिशतसहित सबैभन्दा कम हुने अनुमान छ ।











