दसैँ बिदा पछिको पहिलो कारोबार दिन नेप्से परिसूचक उच्च अङ्कले घटेको छ । दसैँ अघिको अन्तिम कारोबार दिन सामान्य अङ्क बढेर बन्द भएको नेप्से, आज भने घटेर बन्द भएको हो ।

मङ्गलवार नेप्से परिसूचक ५८.५५ अङ्क घटेर २६०४.९६ विन्दुमा झरेको छ। त्यस्तै, सेन्सेटिभ इण्डेक्स ७.८८ अङ्क घटेको छ भने फ्लोट इण्डेक्स ३.८८ अङ्क र सेन्सेटिभ फ्लोट इण्डेक्स २.९२ अङ्क घटेको छ ।
नेप्से घटेपनि कारोबार रकम भने बढेको छ । दसैँ अघिको अन्तिम कारोबार दिन करिब ३ अर्बको सेयर कारोबार भएको बजारमा आज ३२६ स्टकको ५५ हजार ४५० पटकको कारोबारमा ४ अर्ब ६२ करोड ९० लाख ४२ हजार रुपैयाँबराबरको १ करोड ३ लाख ४५ हजार कित्ता सेयर खरिदबिक्री भएको छ ।
सर्वाधिक मूल्य बढेका १० स्टकहरूमा अधिकांश ऋणपत्र रहेका छन् । जसमध्ये सेन्चुरी डिबेन्चर २०८८ को मूल्य सर्वाधिक १० प्रतिशत बढेको छ । कारोबारमा आएको भुगोल इनर्जी डेभलपमेन्ट कम्पनीको सेयरमूल्य सर्वाधिक ९.९९ प्रतिशत घटेको छ । त्यस्तै, पाल पुनर्बीमा कम्पनीको शेयरमूल्य साढे ८ प्रतिशत घटेको छ भने ग्लोबल आइएमई समुन्नत योजना २ को इकाईमूल्य करिब साढे ७ प्रतिशत घटेको छ ।
कारोबार रकमका आधारमा यूनियन हाइड्रोपावर शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको २८ करोड ३१ लाख रुपैयाँबराबरको सेयर कारोबार भएको छ। त्यस्तै, नेपाल पुनर्बीमा कम्पनीको करिब साढे १९ करोडको सेयर किनबेच भएको छ भने हिमालयन रि इन्स्योरेन्सको कारोबार रकम साढे १२ करोड नाघेको छ ।
आज १३ वटै उपसमूहको परिसूचक घटेको छ । जसमध्ये अन्य उपसमूहको परिसूचक सर्वाधिक ४.८३ प्रतिशत घटेको छ । त्यसैगरी, विकास बैङ्क, होटल तथा पर्यटन, जलविद्युत र निर्जीवन बीमा उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढी घटेको छ भने बैंकिङ्ग, वित्त, लगानी, जीवन बीमा, उत्पादन तथा प्रशोधन, लघुवित्त र व्यापार उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी घटेको छ ।









