Logo
Logo

टी-२० विश्वकप छनोटमा कुवेतविरुद्ध नेपालको शानदार जित


1.1k
Shares

The current image has no alternative text. The file name is: nepal-1.jpg

काठमाडौं । कुवेतलाई पराजित गर्दै नेपाली राष्ट्रिय क्रिकेट टोलीले आईसीसी टी–२० विश्वकप एसिया इस्ट प्यासिफिक छनोटमा विजयी सुरुवात गरेको छ । बुधवार राति भएको समूह चरणको पहिलो खेलमा नेपालले कुवेतमाथि ५८ रनको फराकिलो जित निकालेको हो । जितसँगै नेपालले अङ्क तालिकामा महत्त्वपूर्ण २ अङ्क जोड्दै शीर्ष स्थानमा छ । 

नेपालले दिएको १ सय ४२ रनको लक्ष्य पछ्याएको कुवेत १८.१ ओभरमा ८३ रन बनाउँदा अलआउट भयो । १५ औँ ओभरमा सन्दीप लामिछानेले लगातार दुई विकेट लिर्दै कुवेतलाई दबाबमा राखेका थिए। सो ओभरमा सन्दीपले मेडन विकेट आफ्नो नाममा गरेका थिए। 

कुवेतमाथि जित निकाल्न सन्दीपसहित कप्तान रोहित पौडेल र ललित राजवंशीले समान २ विकेट लिए। सोमपाल कामी, नन्दन यादव र कुशल भुर्तेलले समान एक विकेट लिए ।  

कुवेतका लागि ओपनर क्लिन्टो एन्टोले बनाएको २६ रन नै सर्वाधिक रह्यो। यासिन पटेलले १९ र मति भास्करले ११ रन बनाए। अन्य ब्याटरले दोहोरो अंकको स्कोर छुन सकेनन् । 

त्यसअघि ओमानको अल एमिरेट्स क्रिकेट मैदान टर्फ १ मा कुवेतले टस जितेर फिल्डिङ रोेजेपछि ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १ सय ४१ रनको योगफल तयार पारेको थियो । 

नेपालका लागि ओपनर कुशल भुर्तेलले सर्वाधिक ६६ रनको योगदान दिए। उनले ५६ बलमा ३ चौका र ३ छक्का प्रहार गरे । दीपेन्द्र सिंह ऐरीले २० रन बनाउँदा रन आउट हुन पुगे। गुल्सन झा २० रन बनाउँदा अनुदिप चेन्थामाराको बलमा बोल्ड आउट भए । 

कप्तान रोहित पौडेल १६ रन बनाउँदा क्याच आउट हुन पुगे। सन्दीप जोराले ५ र कुशल मल्ल ४ रन बनाउँदै आउट भए । सोमपाल कामी १ र नन्दन यादव २ रनमा अविजित रहे। नेपालले अन्तिम ओभरमा २ विकेट गुमाएको थियो । 

कुवेतका लागि नवीनराज राजेन्द्रनले २ विकेट लिए। मोहम्मद आकिफ फारुक, अनुदिप र मोहम्मद अस्लामले समान एक विकेट आफ्नो नाममा गरे । 

नेपाल रहेको समूह बी मा कुवेतसँगै जापान छन् । समूह ए मा मलेसिया, कतार र युएई छन् । समूह सी मा ओमान, पपुवा न्युगिनी र सामोआ छन् । 

प्रतिक्रिया दिनुहोस्