काठमाडौं । साताको अन्तिम कारोबार दिन नेप्से परिसूचक बढेर बन्द भएको छ । अघिल्लो दुई कारोबार दिन घटेर बन्द भएको नेप्से, आज भने बढेर बन्द भएको हो ।

बिहीबार नेप्से परिसूचक २२.५९ अङ्क बढेर २५८२.१८ विन्दुमा पुगेको छ। त्यस्तै, सेन्सेटिभ इण्डेक्स ४.८४ अङ्क बढेको छ भने फ्लोट इण्डेक्स १.८६ अङ्क र सेन्सेटिभ फ्लोट इण्डेक्स १.६९ अङ्क बढेको छ ।
नेपाल राष्ट्र बैङ्कले सेयर धितोमा प्रवाह गर्ने मार्जिन प्रकृतिको कर्जाको अधिकतम एकल ग्राहक कर्जामा २५ करोडको सीमा हटाएसँगै बजार सकारात्मक भएको हो । सीमा हटाएपछि लगानीकर्ताहरु उत्साहित हुँदा नियमित बजार खुलेको ३ मिनेटमा नै ४ प्रतिशत बढेर सकारात्मक सर्किट लागेको थियो । सर्किट लागेर २० मिनेट कारोबार स्थगित भएपश्चात खुलेको बजारले भने सोही क्रमलाई निरन्तरता दिन सकेन । फलस्वरुप नेप्से सामान्य अङ्क बढेर बन्द हुन पुग्यो ।
नेप्से बढेपनि कारोबार रकम भने घटेको छ । अघिल्लो कारोबार दिन अर्थात् बुधवार ५ अर्ब ७६ करोडको सेयर खरिदबिक्री भएको बजारमा यस दिन ३१३ स्टकको ५६ हजार ३२१ पटकको कारोबारमा ५ अर्ब २७ करोड ३२ लाख २१ हजार रुपैयाँबराबरको १ करोड १८ लाख ३० हजार कित्ता सेयर खरिदबिक्री भएको छ ।
विन्ध्यबासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको सेयर मूल्य सर्वाधिक ८.२१ प्रतिशत बढेको छ। त्यस्तै, एशियन हाइड्रोपावरको शेयरमूल्य साढे ५ प्रतिशत बढेको छ भने एमबिएल इक्विटी फण्डको इकाईमूल्य करिब ५ प्रतिशत बढेको छ । कारोबारमा आएको थ्रिस्टा हाइड्रोपावरको सेयरमूल्य यस दिन सर्वाधिक ९.०९ प्रतिशत घटेको छ ।
कारोबार रकमका आधारमा यस दिन शिवम् सिमेन्ट्स शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको २७ करोड ३४ लाख रुपैयाँबराबरको सेयर किनबेच भएको छ । त्यस्तै, यूनियन हाइड्रापावरको कारोबार रकम २७ करोड नाघेको छ भने हिमालयन रि इन्स्योरेन्सको करिब २१ करोडको सेयर कारोबार भएको छ ।
१३ उपसमूहमध्ये १२ उपसमूहको परिसूचक बढेको छ भने १ उपसमूहको परिसूचक घटेको छ । लगानी उपसमूहको परिसूचक सर्वाधिक १.६१ प्रतिशत बढेको छ। त्यसैगरी, बैंकिङ्ग, विकास बैङ्क, वित्त, जीवन बीमा र उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी बढेको छ । कारोबारमा आएको व्यापार उपसमूहको परिसूचक सर्वाधिक १.४८ प्रतिशत घटेको छ ।











