Logo
Logo

ढोरपाटनका बाढी पीडितलाई जिल्ला सहकारी संघ बागलुङको ५ लाख सहयोग


- दृष्टि न्युज/संवाददाता


बागलुङ, १ असोज । जिल्लाको ढोरपाटन नगरपालिकाका पहिरो पीडितका लागि जिल्ला सहकारी संघ लिमिटेड बागलुङले ५ लाख १ हजार १ सय रुपैया आर्थिक सहयोग उपलब्ध गराएको छ । संघको संयोजन तथा विभिन्न संघ संस्थाहरुको सहयोगमा संकलित सहयोग रकमको चेक संघका अध्यक्ष दिपक गौतमले बुधवार ढोरपाटन नगरपालिका प्रमुख देवकुमार नेपालीलाई हस्तान्तरण गर्नु भएको थियो । भदौ १७ गते आएको पाढी पहिरोबाट ढोरपाटन नगरपालिका वडा नं. ९, ८ र ७ मा २२ जनाको मृत्यु भएको भने १६ जना अझै वेपत्ता रहेका छन् । वेपत्ताहरुको खोजी कार्य जारी रहेको ढोरपाटन नगरपालिकाका प्रमुख देवकुमार नेपालीले जानकारी दिनुभयो ।

बाढीले ८० घर पूूर्ण रुपमा क्षति गराएको छ । ५१ घरमा आंशिक क्षति पुगेको छ भने ११ वटा लघु जलविद्युत आयोजना, एक स्वास्थ्य इकाई, ११ झोलुंगे पुल, ५ वटा ढलान पुल, १० वटा काठेपुल र दुई विद्यालय सहित ७१ वटा भौतिक संरचनामा क्षति पुगेको छ ।

जिल्ला सहकारी संघ लिमिटेड बागलुङले पहिरो पीडितहरुका लागि आर्थिक सहयोग गर्न जिल्लास्थित संघ संस्था लगायत देशभरका सहकारी संघ संस्थाहरुलाई आव्हान गरेको थियो । जिल्ला सहकारी संघले सञ्चालन गरेको अभियानमा बागलुङको आदर्श सञ्चार सहकारी संस्था लिमिटेडले ंसंस्थाद्वारा सञ्चालित आदर्शसञ्चार अनलाइनको वार्षिकोत्सवको खर्च कटाएर र आफ्ना शेयर सदस्यसंग पहिरो पीडितका लागि सहयोग संकलन गरेर १ लाख ७५ हजार रुपैया सहयोग गरेको थियो ।

त्यस्तै जिल्ला कृषि संघ लिमिटेड बागलुङले जिल्लाका कृषि सहकारी संस्थाहरुसंग संकलित ८० हजार ५ सय रुपैया, गलकोट सहकारी सञ्जालले ४२ हजार ५ सय, राष्ट्रिय सहकारी बैंक लिमिटेडले ३० हजार सहयोग गरेको जिल्ला सहकारी संघका सचिव तेजेन्द्र बहादुर थापाले जानकारी दिनुभयो । अन्य रकम जिल्ला सहकारी संघले बागलुङ लगायत विभिन्न क्षेत्रमा सञ्चालित सहकारी संघ संस्थाहरु र सहकारीकर्मीहरुसंग संकलित गरेको सचिव थापाले बताउनुभयो ।

सहकारी विशेषत सदस्य केन्द्रीत व्यवसाय हो, सदस्यहरुको हितमा काम गर्ने पहिलो प्राथमिकता हुदा हुदै पनि सहकारीको सातौ सिद्धान्त समुदायप्रतिको चासोलाई मध्यनजर गरेर सहयोग अभियान सञ्चालन गरिएको र सबैको सहयोगमा ५ लाख १ हजार रुपैया १ सय पहिरो पीडितको राहत तथा उद्धारमा सहयोग गर्न सकिएको संघका अध्यक्ष दिपक गौतमले बताउनुभयो ।

जिल्लाको ढोरपाटन लगायत अन्य क्षेत्रमा पनि पहिरोले जनधनको क्षति गरेको छ, जैमिनी नगरपालिकाका पहिरो पीडितका लागि पनि संघले सहयोग गर्ने योजना बनाएको संघका कोषाध्यक्ष तथा राष्ट्रिय सहकारी महासंघका सञ्चालक हुमा कुमारी जि.सी. (अञ्जु)ले बताउनुभयो ।
जिल्ला सहकारी संघको सहयोग बुझेपछि ढोरपाटन नगरपालिकाका प्रमख देवकुमार नेपालीले सहकारी क्षेत्रमार्फत ढोरपाटनका पहिरो पीडितका लागि गरेको सहयोगका लागि धन्यवाद व्यक्त गर्नु भयो । उहाँले सहयोगी संघ संस्था र व्यक्तिहरुबाट प्राप्त सहयोग पीडितका लागि व्यवस्थित रुपमा वितरण गर्ने प्रतिवद्धता समेत व्यक्त गर्नु भयो । उहाँले पहिरो पीडितहरुका लागि खाद्यान्न, अस्थायी बास, खानेपानी, विद्युत सहित अति आवश्यक व्यवस्था भैरहेको र संकलित रकमबाट पीडितहरुका लागि स्थायी बासको व्यवस्था गरिने बताउनुभयो ।

बुधवारसम्म विभिन्न क्षेत्रबा नगद ८० लाख सहित गाँस, बास कपासका लागि सहयोग संकलन भएको उपप्रमुख करमती पुनले जानकारी दिनुभयो । सहयोग हस्तान्तरण कार्यक्रममा राष्ट्रिय सहकारी बैंकका सञ्चालक तथा गण्डकी प्रदेशका संयोजक रामबहादुर जिसी, जिल्ला कृषि सहकारी संघका अध्यक्ष तथा संविधानसभाका सदस्य नरबहादु थापा, जिल्ला सहकारी संघ बागलुङका सञ्चालक तथा नेपाल सूचना तथा सञ्चार केन्द्रीय सहकारी संघका लेखा सदस्य खीमबहादुर कार्की, गलकोट सहकारी सञ्जालका उपाध्यक्ष छम बहादुर थापा, आदर्श सञ्चार सहकारी संस्थाका सचिव ललिता थापा लगायतले पहिरोबाट मृत्यु भएकाहरुप्रति श्रद्धाञ्जली व्यक्त गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्