काठमाडौँ । काठमाडौँ महानगरपालिकाले यस वर्षको तिहार पर्वमा विदेशबाट आयात गरिएको फूलमालाको बिक्री र वितरणमा प्रतिबन्ध लगाउने निर्णय गरेको छ ।

महानगर प्रहरी बलले आज आयोजित पत्रकार सम्मेलनमार्फत जानकारी दिँदै भनेको छ कि यो निर्णय नेपाली कृषकहरूलाई प्रोत्साहन गर्ने उद्देश्यले लिइएको हो ।
अवैध रूपमा विदेशबाट ल्याइएका फूलहरूको बिक्रीमा रोक लगाउने र स्वदेशमै उत्पादित फूलको प्रयोगलाई प्रवर्द्धन गर्ने नै हाम्रो मुख्य उद्देश्य हो । विदेशी फूल पत्ता लागेमा महानगरपालिकाले जफत गर्ने महानगर प्रहरी बलका प्रमुख, नगर प्रहरी वरिष्ठ उपरीक्षक राजुनाथ पाण्डेले बताए ।
३२ स्थानमा नेपाली फूल बिक्री केन्द्र
महानगरपालिकाले तिहार पर्वको समयमा नेपाली फूलको सहज आपूर्ति सुनिश्चित गर्न कात्तिक १ गतेदेखि ६ गतेसम्म काठमाडौँ महानगरका ३२ स्थानमा फूल बिक्री केन्द्र स्थापना गर्ने निर्णय गरेको छ। यी स्थानहरूमा नेपाली फूलमालाको सहज उपलब्धता हुनेछ।
फूल बिक्री केन्द्र रहेका प्रमुख स्थानहरू :
-नयाँबानेश्वर एनभी सेन्टर, आइप्लेक्स मल
-शङ्खमुल बिगमार्ट
-मध्यबानेश्वर सेल्सबेरी
-बत्तिसपुतली फोनेक्स टावर
-तीनकुनेचौर, सिफल चौर, चाबहिल क्षेत्र एसी कम्प्लेक्स, केएल टावर आदि
-स्वयम्भू धर्मचक्र पार्क
-कालिमाटी क्षेत्र ब्याङ्क्वेट, धौखेल
-कलङ्की, नयाँबजार, माछापोखरी, हाँडीगाउँ, सामाखुशी, महाराजगञ्ज, गोङ्गबु, बालुवाटार, पुतलीसडक, अनामनगर, सुन्धारा, पुरानो बसपार्क लगायत
सहकार्य र आगामी कार्यक्रम
नेपाल चेम्बर अफ कमर्शअन्तर्गत कृषि, वन तथा जडीबुटी समितिका सभापति कृष्णमान श्रेष्ठले नेपाली फूलको प्रयोग बढाउने अभियानमा महानगरपालिकाको तीन वर्षदेखिको सक्रियताप्रति सकारात्मक प्रतिक्रिया दिए । नेपाल फ्लोरिकल्चर एशोसिएसनका अध्यक्ष राजेशभक्त श्रेष्ठले पनि कृषक र राष्ट्रिय अर्थतन्त्रलाई बलियो बनाउने महानगरको नीतिमा सहयोग गर्ने प्रतिबद्धता जनाए ।
एशोसिएसनले आगामी असोज २९ गतेदेखि कात्तिक २ गतेसम्म १८औँ गोदावरी फूल प्रतियोगिता आयोजना गर्ने जानकारी दिएको छ । साथै, तिहारको अवसरमा करिब ४० लाख माला खपत हुने अनुमान गरिएको छ । एशोसिएसनका अनुसार स्वदेशी उत्पादनले काठमाडौँ उपत्यकाको फूलको माग धान्न सक्ने क्षमता राख्छ ।
यस अभियानले नेपाली कृषकलाई आर्थिक रूपमा सशक्त बनाउने , आयातमा निर्भरता घटाउने र स्वदेशी उत्पादनको सम्मान गर्ने मार्ग प्रशस्त गर्ने अपेक्षा गरिएको छ।














