झापा । झापामा विगत दुई दशकदेखि मानव–हात्ती द्वन्द्व गम्भीर समस्या बनेको छ।

यो अवधिमा जङ्गली हात्तीको आक्रमणबाट ७२ जनाले ज्यान गुमाएका छन् भने २६ वटा हात्ती मरेका छन्। तीमध्ये १४ वटा हात्तीको मृत्यु गैरकानुनी रूपमा राखिएको विद्युतीय धरापका कारण भएको डिभिजन वन कार्यालयले जनाएको छ। डिभिजन वन कार्यालय झापाका प्रमुख भरतबाबु श्रेष्ठका अनुसार खोज, अनुसन्धान तथा पोस्टमार्टम रिपोर्टका आधारमा ती हात्तीको मृत्यु नाङ्गो विद्युतीय तारको घेराबारले भएको पुष्टि भएको हो।
उनका अनुसार जङ्गली हात्तीको प्रवेश हुने क्षेत्रमा स्थानीयवासीले खेतबारी र घरगोठ जोगाउन भन्दै अनाधिकृत रूपमा नाङ्गो विद्युत् तार प्रयोग गर्ने गरेको पाइन्छ।
“यसले हात्ती मात्र होइन, मानिसको ज्यानसमेत जोखिममा परेको छ,” प्रमुख श्रेष्ठले भने, “तारवारको जोखिम हटाउन हामीले स्थानीय पालिका र विद्युत् प्राधिकरणलाई पत्राचार गरिसकेका छौं।” उनले जनचेतनामूलक कार्यक्रम अन्तर्गत घरदैलोमै पुगेर पनि धराप नलगाउन आग्रह गर्दा बेवास्ता भएको गुनासो गरे।
“काठ वा बाँसको किलामा अड्याएर रातभर नाङ्गो तारमा करेन्ट प्रवाह गर्ने, बिहान उज्यालो भएपछि बन्द गर्ने कार्य व्यापक छ,” उनले थपे, “यो निकै खतरनाक हो।”
भारतबाट समेत हात्ती झापामा आउने गरेका कारण द्वन्द्व झनै बढ्ने गरेको वन कार्यालयले जनाएको छ। यस्ता घटनाले वन्यजन्तु संरक्षण मात्र होइन, मानव सुरक्षामासमेत गम्भीर चुनौती सिर्जना गरेको बताइएको छ।














