Logo
Logo

मनास्लु आरोहीबाट १५ करोडभन्दा बढी राजस्व सङ्कलन


189
Shares

गोरखा । यस वर्ष मनास्लु हिमाल आरोहणका लागि अनुमति लिएका आरोहीहरूबाट करिब १५ करोड ७६ लाख रुपैयाँ राजस्व सङ्कलन भएको छ।

पर्यटन विभागका अनुसार ३१ वटा आरोहण समूहमा रहेका ३७४ जना आरोहीबाट ११ लाख २२ हजार अमेरिकी डलर बराबरको राजस्व उठाइएको हो।

८१६३ मिटर अग्लो मनास्लु हिमाल चुमनुब्री गाउँपालिका–१, सामागाउँमा अवस्थित छ । यो याममा अन्य हिमालहरूभन्दा मनास्लु आरोहणमा सहभागिता बढी देखिएको विभागका निर्देशक हिमाल गौतमले जानकारी दिए । उनका अनुसार, मनास्लु आरोहणका लागि अनुमति लिनेहरूमा ९५ महिला र २७९ पुरुष छन्। यो संख्याले अन्य हिमालहरूमा आकर्षणभन्दा मनास्लु प्रति बढ्दो चासो देखाएको छ।

पर्यटन विभागका तथ्याङ्कअनुसार, यस सिजनमा विभिन्न ४२ हिमालका लागि कुल ८०२ जना आरोहीले अनुमति लिएका थिए। तीमध्ये करिब आधा अर्थात् ३७४ जनाले मात्र मनास्लु आरोहणका लागि अनुमति लिएका थिए । सगरमाथा हिमाल आरोहणका लागि भने यसपटक जम्मा ४ जनाले मात्र अनुमति लिएका थिए, जसबाट करिब ४२ लाख १२ हजार रुपैयाँ राजस्व सङ्कलन भएको छ।

त्यस्तै, धौलागिरि आरोहणका लागि १० जना, ल्होत्से, मकालु र चोयू हिमालका लागि दुई–दुई जना मात्रले अनुमति लिएका थिए।

मनास्लु हिमाललाई विश्वको आठौँ र नेपालको सातौँ अग्लो हिमालको रूपमा चिनिन्छ। हालको आरोहण याममा यसको लोकप्रियता झनै बढेको देखिन्छ।

प्रतिक्रिया दिनुहोस्