Logo
Logo

बिहीबार उपत्यकामा ६१८ सहित थपिए १२४६ जना संक्रमित


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, १ असोज । बिहीबार देशभर थप एक हजार २४६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा देशभरका विभिन्न प्रयोगशालामा १० हजार ६४१ जनाको पिसीआर परीक्षण गर्दा उक्त संख्यामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको हो । योसँगै नेपालमा संक्रमितको संख्या ५९ हजार ५७३ पुगेको छ ।
त्यसैगरी पछिल्लो २४ घण्टा एक हजार २४३ जना कोरोनाबाट निको भएर डिस्चार्ज भएका छन् । मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार योसँगै देशभर कोरोना संक्रमणबाट निको हुनेको संख्या ४२ हजार ९४९ जना पुगेको छ । मन्त्रालयका अनुसार कूल संक्रमितमध्ये निको हुनेको प्रतिशत ७२ रहेको छ । मन्त्रालयका प्रवक्ता गौतमका अनुसार देशभर १६ हजार २४१ जना सक्रिय संक्रमित छन् ।
त्यस्तै, बिहीबार काठमाडौँ उपत्यकामा थप ६१८ जनामा कोरोना संक्रमित थपिएका छन् । काठमाडौँमा ५०७, ललितपुरमा ६१ र भक्तपुरमा ५० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको मन्त्रालयका प्रवक्ता डा गौतमले जानकारी दिए । मन्त्रालयका अनुसार संस्थागत आइसोलेसनमा सात हजार ९०३ जना रहेका छन् भने होम आइसोलेसनमा आठ हजार ३३८ जना छन् । यस्तै क्वारेन्टिनमा सात हजार ८८३ जना रहेका छन् ।
त्यस्तै काठमाडौँ, भक्तपुर, ललितपुर, मोरङ, सुनसरी, सिराहा, मकवानपुर, चितवन र रुपन्देहीमा सक्रिय संक्रमितको संख्या ५०० बढी रहेको मन्त्रालायले जनाएको छ । मन्त्रालयका अनुसार सोलुखुम्बु, मुस्ताङ, डोल्पा, मुगु र हुम्लामा सक्रिय संक्रमितको संख्या शून्य रहेको छ ।

प्रतिक्रिया दिनुहोस्