Logo
Logo

पशुपतिनाथको मन्दिर खुला गर्न माग गर्दै प्रदर्शन


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, १ असोज । पशुपति मन्दिरलगायत देशभरका हिन्दू मन्दिरहरू खोल्न माग गर्दै बिहीबार पशुपति क्षेत्रमा प्रदर्शन गरिएको छ । बिहीबार बिहानै लकडाउन खुलेको भन्दै भक्तजन तथा दर्शनार्थीको भीड लागेको थियो । तर, दर्शन गर्न नदिएपछि प्रर्दशनमा उत्रिएका थिए ।
साथै, लामो समयसम्म मन्दिरहरू बन्द हुँदा हिन्दु धर्मावलम्बीहरूलाई समस्या भएको भन्दै स्वास्थ्य मापदण्ड पालना गरेर मन्दिर खोल्न माग गर्दै शिवसेना नेपालले प्रदर्शन गरेको छ ।
जिल्ला प्रशासन कार्यालय काठमाडौंले मठमन्दिर खोल्न अझै प्रतिबन्ध लगाएको छ । तर, शिव सेना नेपालले प्रदर्शन गरेपछि त्यसलाई रोक्न खोज्ने क्रममा केहीबेर प्रहरी र प्रदर्शनकारीबीच घम्साघम्सी समेत भएको थियो ।
दर्शनार्थीले समेत मन्दिर खुलाउनु माग गरेका छन् । अन्य मठ मन्दिरमा छिर्न दिइएको भन्दै जोरपार्टीकी विद्या कार्कीले पशुपतिनाथको मन्दिर दर्शनका लागि खुला गर्नुपर्ने माग गरिन् । बिहीबार परिवारसहित पशुपतिनाथ मन्दिरको दर्शन गर्न आएकी उनलाई छिर्न नदिएपछि आक्रोशित भएकी उनले भनिन्, ‘बन्द गर्ने हो भने सबै बन्द गर्नुपर्छ । अरुतिर खुला भइसकेको अवस्थामा पशुपति पनि खुला गर्नुपर्छ ।’
सरकारले गत ११ चैतमा कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण गर्न भन्दै लकडाउन जारी गरेसँगै पशसपतिनाथलगायत देशभरका मठ मन्दिरहरु पनि दर्शनका लागि बन्द गरेका थियो । तर, कोरोना संक्रमण बढिरहेका बेला बजार, सार्वजनिक यातायातलगायत आन्तरिक उडानसमेत खुला गरेपनि पशुपतिनाथको मन्दिर खुला गर्ने संकेत देखाएको छैन । मन्त्रिपरिषदको निर्णयबाट पशुपतिनाथ दर्शनका लागि बन्द गरिएकाले खुला गर्न मन्त्रिपरिषदबाटै निर्णय हुनुपर्ने पशुपति विकास कोषले जनाउँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्