काभ्रेपलाञ्चोक । गत साताको बाढीले क्षतिग्रस्त बनाएको बिपी राजमार्गमा अस्थायी ‘ट्र्याक’ खोलेर सवारीसाधन सञ्चालनमा ल्याएपछि अब मर्मत कार्यलाई तीव्रता दिइएको छ।

एक सातासम्म अबरुद्ध रहेको राजमार्ग शनिबार बिहानदेखि औपचारिक रूपमा सञ्चालनमा आएको हो।
डिभिजन सडक कार्यालय भक्तपुरका अनुसार, बाढीले भत्काएका ठाउँमा ‘डाइभर्सन’ बनाएर अस्थायी रूपमा सडक सञ्चालनमा ल्याइएको भए पनि सडक साँघुरो र अप्ठ्यारो भएकाले निरन्तर मर्मत भइरहेको छ। कार्यालय प्रमुख सीनियर डिभिजनल इञ्जिनियर सुमन योगेशका अनुसार, तीन वटा मेसिनले सक्रिय रूपमा काम गरिरहेका छन् भने अन्य ‘स्टेशन’मा मेसिनलाई ‘स्ट्यान्डबाइ’मा राखिएको छ। उनका अनुसार, कार्यालयले बाढीले कटान र बगर बनेका सडक खण्डहरू पाँच दिन लगातार मर्मतमा खटेर सुधार गरेको हो।
राजमार्गका १९ वटा क्षतिग्रस्त स्थानमा ‘डाइभर्सन’ निर्माण गरी सवारीसाधन सञ्चालन गर्न सकिएको कार्यालयले जनाएको छ। रातभर करिब दुई दर्जन मेसिन प्रयोग गरेर काम निरन्तर गरिएकाले शनिबारदेखि पूर्ण रूपमा राजमार्ग सञ्चालनमा ल्याइएको हो। शुक्रबार साँझसम्म काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–६ चौकीडाँडादेखि रोशी गाउँपालिका–माम्ती खण्डसम्म ‘ट्र्याक’ खोली परीक्षण गरिएको थियो।
इञ्जिनियर योगेशका अनुसार, चौकीडाँडा, कटुन्जे–घुमाउने, चारसयबेँसी, गिम्दीबेँसी, नार्के, चिउरीबास, बोक्सीकुना, कालढुङ्गा, डालाबेँसी र पिप्ले क्षेत्रका चार ठाउँसहित माम्तीका दुई स्थानमा ‘डाइभर्सन’ निर्माण गरी यातायात सञ्चालन गरिएको छ। उनले विशेषगरी काभ्रेपलाञ्चोक खण्डमा खोलाको धार परिवर्तन गरी अस्थायी सडक निर्माण गरिएको बताए। कार्यालयले सो क्षेत्रका सवारीचालक र यात्रुलाई विशेष सावधानी अपनाउन आग्रह गरेको छ।
सडक कार्यालयले काभ्रेपलाञ्चोक खण्डका १६ र सिन्धुली खण्डका ३ स्थानमा ‘डाइभर्सन’ तयार पारेर शुक्रबार अपराह्न ट्र्याक खोलिएको जनाएको छ। रोशी खोलाको बाढीले करिब चार किलोमिटर सडक कटान गरेको थियो। सोही क्षेत्र गत वर्ष असोज महिनाको बाढी–पहिरोमा समेत क्षतिग्रस्त भएकाले त्यतिबेलादेखि अस्थायी रूपमा ‘डाइभर्सन’ प्रयोग हुँदै आएको थियो।
पूर्वी नेपाललाई छोटो दूरीमा जोड्ने महत्वपूर्ण बाटोको रूपमा रहेको बिपी राजमार्गमा दैनिक हजारौँ सवारीसाधन आवागमन हुने गर्छ। सडक कार्यालयले राजमार्गका स्थायी पुनर्निर्माणका लागि चार खण्डमा ठेक्का प्रक्रिया अघि बढाइरहेको जनाएको छ।














