काठमाडौं । साताको दोस्रो कारोबार दिन सेयर बजार परिसुचक नेप्से बढेर बन्द भएको छ । सोमबार घटेर बन्द भएको नेप्से, आज भने बढेर बन्द भएको हो ।

सोमबार नेप्से परिसूचक ४४.२५ अङ्क बढेर २५४७.६० विन्दुमा पुगेको छ । त्यस्तै, सेन्सेटिभ इण्डेक्स ५.१४ अङ्क बढेको छ भने फ्लोट इण्डेक्स २.६५ अङ्क र सेन्सेटिभ फ्लोट इण्डेक्स १.९७ अङ्क बढेको छ ।
नेप्से बढे पनि कारोबार रकम भने घटेको छ । सोमबार ६ अर्ब ७० करोड रुपैयाँको सेयर खरिदबिक्री भएको बजारमा ३३० स्टकको ४८ हजार ८३६ पटकको कारोबारमा ४ अर्ब ९७ करोड ५४ लाख ८ हजार रुपैयाँबराबरको ९९ लाख ४ हजार कित्ता सेयर खरिदबिक्री भएको छ ।
आज तीन कम्पनीको सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । नेपाल माइक्रो इन्स्योरेन्स, नेपाल पुनर्बीमा कम्पनी र क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्सको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो । त्यस्तै, इमर्जिङ्ग नेपाल र एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्टको सेयरमूल्य करिब १० प्रतिशत बढेको छ । कारोबारमा आएको कर्पोरेट डेभलपमेन्ट बैंकको सेयरमूल्य यस दिन सर्वाधिक ५.२६ प्रतिशत घटेको छ ।
कारोबार रकमका आधारमा एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको ३१ करोड ९१ लाख रुपैयाँबराबरको सेयर किनबेच भएको छ । त्यस्तै, नेपाल पुनर्बीमा कम्पनीको करिब साढे २६ करोड रुपैयाँको सेयर कारोबार भएको छ भने १० प्रतिशत केबिएल डिबेञ्चर २०९० को कारोबार रकम २४ करोड रुपैयाँ नाघेको छ ।
आज १३ वटै उपसमूहको परिसूचक बढेको छ । जसमध्ये अन्य उपसमूहको परिसूचक सर्वाधिक ५.०१ प्रतिशत बढेको छ । त्यसैगरी, होटल तथा पर्यटन उपसमूहको परिसूचक करिब साढे ३ प्रतिशत बढेको छ भने जलविद्युत, लगानी र व्यापार उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढी बढेको छ ।











