काठमाडौं । मङ्गलवार सेयर बजार परिसूचक नेप्से घटेर बन्द भएको छ । अघिल्लो कारोबार दिन अर्थात् सोमबार बढेर बन्द भएको नेप्से, आज भने घटेर बन्द भएको हो ।

नेप्से परिसूचक १९.४३ अङ्क घटेर २५२८.१६ विन्दुमा झरेको छ । त्यस्तै,सेन्सेटिभ इण्डेक्स ४.६० अङ्क घटेको छ भने फ्लोट इण्डेक्स १.८० अङ्क र सेन्सेटिभ फ्लोट इण्डेक्स १.७१ अङ्क घटेको छ ।
नेप्सेसँगै कारोबार रकम पनि घटेको छ । सोमबार करिब ५ अर्ब रुपैयाँको सेयर खरिदबिक्री भएको बजारमा यस दिन ३१७ स्टकको ३८ हजार ८२७ पटकको कारोबारमा ३ अर्ब ३६ करोड ६१ लाख ९८ हजार रुपैयाँबराबरको ७४ लाख ८८ हजार कित्ता सेयर खरिदबिक्री भएको छ ।
आज दुई स्टकको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । शुभम पावर र ग्रामिण विकास लघुवित्त वित्तीय संस्थाको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो । त्यस्तै, क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्सको सेयरमूल्य करिब ६ प्रतिशत बढेको छ भने विन्ध्यबासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको सेयरमूल्य करिब साढे ५ प्रतिशत बढेको छ । कारोबारमा आएको समाज लघुवित्त वित्तीय संस्थाको सेयरमूल्य सर्वाधिक १० प्रतिशत घटेको छ ।
कारोबार रकमका आधारमा नेपाल पुनर्बीमा कम्पनी शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको ३२ करोड ७ लाख रुपैयाँबराबरको सेयर किनबेच भएको छ । त्यसैगरी, हिमालयन रि इन्स्योरेन्सको १६ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ भने सिईडिबी होल्डिङ्गस लिमिटेडको कारोबार रकम साढे १२ करोड रुपैयाँ नाघेको छ ।
१३ उपसमूहमध्ये ३ उपसमूहको परिसूचक बढेको छ भने १० उपसमूहको परिसूचक घटेको छ । आज व्यापार उपसमूहको परिसूचक सर्वाधिक १.४८ प्रतिशत बढेको छ । त्यस्तै, अन्य र म्युचुअल फण्ड उपसमूहको परिसूचक सामान्य बढेको हो । आज विकास बैङ्क, वित्त, होटल तथा पर्यटन, जलविद्युत लगानी र निर्जीवन बीमा उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी घटेको छ ।











