काठमाडौं । अखिल नेपाल फुटबल संघ(एन्फा)ले शहिद स्मारक ए डिभिजन लिग होम एन्ड अवे प्रणालीमा तत्काल नगर्ने भएको छ । मङ्गलवार ललितपुरमा पत्रकार सम्मेलन गर्दै एन्फाले ए डिभिजन क्लवको सुझावका आधारमा तत्कालका लागि होम एन्ड अवे प्रणालीमा लिग नगर्ने निर्णयमा पुगेको जनाएको हो ।

एन्फा महासचिव किरण राईले होम एन्ड अवेमा खेल खेल्नका लागि क्लबहरूले १० महिनाको समय माग गरेको र अन्य तयारी समेत गर्नुपर्ने भएकाले तत्कालका लागि होम एन्ड अवे प्रणालीमा ए डिभिजन लिग नगर्ने निर्णयमा गरिएको जानकारी दिए । लिग होम एन्ड अवे प्रणालीमा नभएपनि अन्य प्रणालीमा लिग सञ्चालनका लागि छठ पछाडि क्लबहरूसँग छलफल गर्ने उनले बताए ।
महासचिव राईले मिति तलमाथि हुने भएपनि ए डिभिजन लिग गर्नका लागि एन्फाले तयारी गर्ने उल्लेख गरे । ए डिभिजन लिगका साथै राष्ट्रिय लिगका बारेमा पनि छलफल भइरहेको भन्दै यसको आवश्यक निर्णय एन्फा बैठकले गर्ने उनको भनाई छ ।
यसअघि ए डिभिजनका क्लबहरुले होम एन्ड अवे फरम्याटमा यस सिजनको लिग खेल्न आफूहरू तयार नरहेको जनाएका थिए । लिग सञ्चालनको लागि टाइमलाइन बनाएर अघि बढ्नुपर्ने माग क्लबहरूले राखेपछि होम एन्ड अवे प्रणालीबाट एन्फा पछि हटेको हो ।











