Logo
Logo

मूल्यवृद्धि १.८७ प्रतिशतमा झर्‍यो, खाद्य समूह ऋणात्मक


630
Shares

काठमाडौं । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार चालु आर्थिक वर्ष २०८२/८३ को साउन–भदौ महिनासम्मको वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति १.८७ प्रतिशतमा सीमित भएको छ।

The current image has no alternative text. The file name is: chamal.jpg

यो दर अघिल्लो आर्थिक वर्ष २०८१/८२ को यसै अवधिमा रहेको ३.८६ प्रतिशतभन्दा निकै कम हो।

राष्ट्र बैंकका अनुसार भदौ महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति १.३४ प्रतिशत ऋणात्मक देखिएको छ भने गैरखाद्य तथा सेवा समूहको मुद्रास्फीति ३.७० प्रतिशत पुगेको छ। अघिल्लो वर्षको सोही महिनामा खाद्य समूहमा ५.०६ प्रतिशत र गैरखाद्य समूहमा ३.१९ प्रतिशत मुद्रास्फीति दर थियो।

आर्थिक विज्ञहरूका अनुसार मुद्रास्फीति घट्नु मूल्य स्थिरताको संकेत भए पनि, यसले आर्थिक गतिविधि सुस्त भएको जनाउँछ। मुद्रास्फीति घट्दा आर्थिक वृद्धिदर पनि सामान्यतया कम हुने भएकाले यो अवस्था अर्थतन्त्रको गति मन्द भएको सङ्केतका रूपमा लिइन्छ।

राष्ट्र बैंकले प्रकाशित विवरणअनुसार खाद्य तथा पेय समूहअन्तर्गत घिउ र तेल ११.०९ प्रतिशतले, गैरमदिराजन्य पेय पदार्थ ३.९७ प्रतिशतले र दुग्ध पदार्थ तथा अन्डा २.६६ प्रतिशतले महँगिएका छन्। तरकारी उपसमूह १२.७४ प्रतिशत, मरमसला ६.६१ प्रतिशत र दाल तथा गेडागुडी ३.५८ प्रतिशतले सस्तिएका छन्।

गैरखाद्य तथा सेवा समूहमा विविध वस्तु तथा सेवा उपसमूहको मूल्य ११.७७ प्रतिशत, शिक्षा ७.६७ प्रतिशत, कपडा तथा जुत्ता–चप्पल ६.२९ प्रतिशत र सूर्तीजन्य पदार्थ ४.८४ प्रतिशतले बढेको छ। यद्यपि, बीमा तथा वित्तीय सेवा उपसमूहमा ०.२२ प्रतिशतले गिरावट आएको छ।

भौगोलिक रूपमा हेर्दा, ग्रामीण क्षेत्रमा मूल्यवृद्धि १.७३ प्रतिशत र सहरी क्षेत्रमा १.९१ प्रतिशत देखिएको छ। प्रदेशगत रूपमा सुदूरपश्चिम प्रदेशमा सबैभन्दा कम ०.८८ प्रतिशत र मधेश प्रदेशमा सबैभन्दा बढी २.९९ प्रतिशत मुद्रास्फीति दर कायम भएको राष्ट्र बैंकले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्