काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमले तेस्रो पटक टी-२० विश्वकपमा स्थान बनाउँदै इतिहास रचेको छ । यो नेपालका लागि लगातार दोस्रो पटक टी-२० विश्वकपको यात्रा हो ।
सुपर सिक्सको खेलअन्तर्गत युएईले सामाओलाई पराजित गरेपछि नेपालले दुई खेल अगावै विश्वकपमा स्थान पक्का गरेको हो । नेपालले आज ओमानसँग र अन्तिम खेल शुक्रबार सामाओसँग खेल्नेछ।

ओमानको मैदानमा पुरानो इतिहास मेट्दै नेपालले अल अमेरतमा नेपाली क्रिकेटको नयाँ इतिहास लेखेको छ । सन् २०२४ मा १० वर्षपछि टी–२० विश्वकपमा स्थान बनाएको नेपालले यसपटक लगातार दोस्रो पटक विश्वकप खेल्ने अवसर पाएको हो ।
सन् २०१४ मा पारस खड्काको नेतृत्वमा नेपालले पहिलो पटक टी–२० विश्वकप खेलेको थियो । त्यही पारस नेतृत्वको क्यानले अहिलेको टोलीले विश्वकप खेल्दै आफ्नो पछिल्लो पुस्ताको प्रतिभा देखाउने अवसर पाएको छ ।
विश्वकप छनोटका लागि नेपाली टोलीले पछिल्लो केही महिनादेखि राम्रो तयारी गरेको थियो। टोलीले भारतमा प्रशिक्षण लियो, अष्ट्रेलियाको टप एण्ड टी–२० सिरिज खेले र ऐतिहासिक रूपमा वेस्ट इन्डिजसँग पनि सिरिज खेलेको थियो। वेस्ट इन्डिज सिरिजमा २–१ ले जित हासिल गरेपछि नेपाल सिधै ओमान पुगेको थियो।
नेपाली क्रिकेट पछिल्लो समयमा स्वर्णिम समय बिताइरहेको छ भन्ने कुरा यस उपलब्धिले प्रमाणित गर्छ। प्रशिक्षक मोन्टी देशाईको प्रशिक्षणमा टोलीले दोस्रो पटक विश्वकप खेलेको थियो भने हाल अष्ट्रेलियन प्रशिक्षक स्टुअर्ट लको नेतृत्वमा तेस्रो पटक विश्वकप खेल्ने अवसर पाएको छ।
प्रशिक्षक स्टुअर्ट लको नियुक्तिपछि उनले भनेका एउटा टिप्पणी भाइरल भएको थियो – “मलाई हारेको मन पर्दैन।” यो उनको अष्ट्रेलियन क्रिकेटबाट आएको अनुशासन र क्रिकेटिङ कल्चरको प्रतिबिम्ब हो। कम बोल्ने भए पनि मैदानमा रणनीति निर्माण र खेलाडी छनोटमा उनको नेतृत्वले नेपाली टोलीलाई उत्कृष्ट प्रदर्शन गराएको छ।
उनको नेतृत्वमा नेपाली टोलीले पहिलो पटक टेस्ट मान्यता प्राप्त राष्ट्रसँग सिरिज खेलेको थियो। त्यो सिरिजमा पनि नेपालले २–१ को जित हासिल गर्दै रणनीतिक क्षमताको सफल परीक्षा दिएको थियो।











