काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) का लागि अर्का अस्ट्रेलियन ब्याटर नेपाल आउने भएका छन् । अस्ट्रेलियाका ओपनिङ ब्याटर डार्शी शर्ट क्रिकेट खेल्ने नेपाल आउन लागेका हुन् । उनलाई लुम्बिनी लायन्सले भित्र्याएको हो ।

शर्टसँग अस्ट्रेलियाको राष्ट्रिय टोलीबाट खेलीसकेको खेलाडी हुन् । उनले सन् २०१८ देखि सन् २०२० सम्ममा अस्ट्रेलियाका लागि ८ एकदिवसीय र २० टी-२० खेल खेलेका थिए।
बाँयाहाते ओपनिङ ब्याटर डार्शीसँग भारतीय प्रिमियर लिग (आइपिएल), अस्ट्रेलियाको बिग ब्यास लिग जस्ता विश्वस्तरीय लिग खेलेको अनुभव छ ।
उनले भारतको आइपिएल राजस्थान रोयल्सबाट खेलेका थिए । जसमा उनले ७ खेलमा मात्र अवसर पाएका थिए । अस्ट्रेलियाको बिग ब्यासमा उनले दुई टोलीबाट १०२ खेल खेलेका छन् ।
यसअघि एनपिएलका लागि सुदूरपश्चिम रोयल्सले अस्ट्रेलियाकै क्रिस लिनलाई भित्र्याएको थियो । यो सिजनको एनपिएल मङ्सिर १ देखि कीर्तिपुरस्थित त्रिवि मैदानमा हुँदै छ । त्यसका लागि सबै आठ टोलीले नेपाली खेलाडी अक्सनमार्फत भित्र्याइसकेका छन् भने विदेशी खेलाडी भित्र्याउने प्रक्रिया जारी छ ।











