काठमाडौं । आईसीसी टी-२० विश्वकप एसिया छनोट अन्तर्गतको अन्तिम खेलमा नेपालले समाओलाई २१२ रनको विशाल लक्ष्य दिएको छ । शुक्रवार टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ४ विकेटको क्षतीमा २११ रन बनाएको हो ।

नेपालका लागि ओपनर असिफ शेख र उपकप्तान दीपेन्द्र सिंह ऐरीले अर्धशतक प्रहार गर्दै पारीको मेरुदण्ड सम्हाले । नेपालका ओपनर असिफ शेखले सर्वाधिक ६९ रन बनाए । ४१ बलको सामना गर्दै उनले ७ चौका र ४ छक्का प्रहार गरे।
त्यस्तै, उपकप्तान दीपेन्द्र सिंह ऐरीले ३१ बलमा ५३ रनको शानदार योगदान दिए। उनले ७ चौका र ४ छक्का प्रहार गर्दै आक्रामक ब्याटिङ प्रदर्शन गरे । अन्य ब्याटरमध्ये कुशल भुर्तेलले १७ रन र आरिफ शेखले ९ रन जोडे। बलिङतर्फ समाओका डेनेल बर्गेसले १ विकेट लिए ।
नेपालले उत्कृष्ट ब्याटिङ प्रदर्शन गर्दै टोलीलाई बलियो स्थितिमा पुर्याएको छ । नेपाल यसअघि नै टी–२० विश्वकपका लागि छनोट भइसकेको छ। अब समाओलाई पराजित गर्दै नेपालले एसिया छनोटको उपाधि जित्ने लक्ष्य लिएको छ ।











