Logo
Logo

देउराली–जनता गौरव गर्न लायक उद्योगका रुपमा विकास हुँदैछ-पोखरेल

कानून र संरचना व्यवस्था नहुँदा समस्या :उपप्रधानमन्त्री पोखरेल


- दृष्टि न्युज/संवाददाता


काठमाडौँ । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले कानून र संरचना व्यवस्था नहुँदा सरकारले सोचेअनुसारको काम गर्न नसकेको बताउनुभएको छ ।
देउराली–जनता फर्मास्युटिकल्स प्रालिको २८औँ वार्षिकोत्सव समारोहका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा उहाँले कानून नबन्दा समस्या परेको भन्दै सरकारले चाँडो कानून र संरचनामा परिवर्तन गर्न लागेको बताउनुभयो ।

उपप्रधानमन्त्री पोखरेलले केन्द्रस्तरमा निर्माण गर्नुपर्ने नीति नियम बनाउन सरकार सकारात्मक रहेको भन्दै सही सुझाव दिन सबैलाई आग्रहसमेत गर्नुभयो ।
देउराली–जनता फर्मास्यूटिकल्स गौरव गर्न लायक उद्योगका रुपमा विकास हुँदै गएको भन्दै उहाँले थप गुणस्तरीय वस्तु उत्पादन गर्न सुझावसमेत दिनुभयो ।
उपप्रधानमन्त्री पोखरेलले जनतासँग गाँसिएको संस्थामात्र बाँच्न सक्ने हुँदा कम्पनीले स्वास्थ्य चेतना अभिवृद्धिमा सहयोग पु¥याउन जरुरी रहेको उल्लेख गर्दै औषधिको अध्ययन अनुसन्धानमा समेत केन्द्रीत हुन कम्पनीलाई आग्रह गर्नुभयो । औषधि व्यवस्था विभागका महानिर्देशक नारायण ढकालले कुल खपतमध्ये ४५ प्रतिशत औषधि स्वदेशमै उत्पादन हुने गरेको उल्लेख गर्दै औषधिको अध्ययन अनुसन्धान गर्न आधुनिक प्रयोगशाला निर्माण गर्न सरकार लागेको बताउनुभयो ।
नेपालमा २२ हजार पसलले औषधि वितरण गरेको बताउँदै उहाँले आन्तरिक उत्पादन बढाउनका लागि स्पष्ट नीति बनाउनुपर्नेमा जोड दिनुभयो ।
टोखा नगरपालिकाका प्रमुख प्रकाश अधिकारीले देउराली–जनता फर्मास्युटिकल्सले टोखा नगरपालिकाको गरिमा बढाएको बताउँदै राष्ट्रको समृद्धिका लागि उद्योगको महत्वपूर्ण भूमिका रहेको धारणा व्यक्त गर्नुभयो ।
कम्पनीका कार्यकारी निर्देशक हरिभक्त शर्माले मेहनत, परिश्रम र इमान्दार भएर अगाडि बढेका कारण कम्पनी अहिलेको अवस्थामा आएको बताउँदै “अमेरिका, भारत, पाकिस्तानभन्दा जेठो मुलुक नेपाल भए पनि अर्थतन्त्र ज्यादै खराब भएकाले देशको अर्थतन्त्रलाई बढाउन हामीहरू लागिरहेका छौँ”, भन्नुभयो ।
स्थानीय समाजसेवी चन्द्रविनोद चालिसेले कम्पनीले एक वर्षमा नै धेरै प्रगति हासिल गर्न सफल भएको बताउँदै थप सफलताको शुभकामनासमेत दिनुभयो । गुणस्तर औषधि उत्पादनको क्षेत्रमा यस कम्पनी अब्बल भएको उहाँको भनाइ छ ।
देउराली जनता फर्मास्युटिकल्स प्रालिका प्राविधिक उपाध्यक्ष मणिरत्न शाक्यले कम्पनीले मुटुरोग, नसासम्बन्धी रोग, मधुमेह, चर्मरोगलगायत ३२० प्रकारका औषधि उत्पादन गरिसकेको जानकारी दिदैं औषधिको आधुनिक भण्डार गृहको निर्माण भइरहेको बताउनुभयो । प्रालिका राष्ट्रिय व्यवस्थापक (बिक्री) प्रकाशसिंह विष्टले कम्पनी र कर्मचारी एक अर्काका लागि परिपूरक भएको कारण कम्पनी अहिलेको स्थानमा आउन सफल भएको बताउनुभयो ।
विसं २०४७ माघ १६ गते स्थापना भएको कम्पनीले ५०७ जनालाई प्रत्यक्ष रोजगारी दिएको कम्पनीका अध्यक्ष दुर्गा उपाध्यायले जानकारी दिनुभयो । कम्पनीले नेदरल्याण्डको गुणस्तर निर्धारण गर्ने संस्था डिएनभीबाट आइएसओको प्रमाणपत्र प्राप्त गरिसकेको छ । सोही अवसरमा कम्पनीमा १०, १५, २० र २५ वर्ष सेवा गरेका कर्मचारीलाई दीर्घसेवा पदकबाट सम्मान गरिएको थियो । (रासस)

प्रतिक्रिया दिनुहोस्