काठमाडौं । तिहार बिदा पछिको पहिलो कारोबार दिन नेप्से परिसूचक सामान्य अङ्क बढेर बन्द भएको छ । तिहार बिदा अघि १६.६७ अङ्क बढेर बन्द भएको नेप्से, आज आइतबार सामान्य अङ्क बढेर बन्द भएको हो ।

आइतबार नेप्से परिसूचक ५.१९ अङ्क बढेर २५०९.०४ विन्दुमा पुगेको छ । सेन्सेटिभ इण्डेक्स ०.६० अङ्क र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.१५ अङ्क घटेको छ भने फ्लोट इण्डेक्स स्थिर रहेको छ ।
नेप्से सामान्य अङ्क बढेपनि कारोबार रकम भने घटेको छ । तिहारअघिको अन्तिम कारोबार दिन २ अर्ब ७९ करोड रुपैयाँबराबरको सेयर खरिदबिक्री भएको बजारमा ३१३ स्टकको २७ हजार ८९९ पटकको कारोबारमा २ अर्ब ६६ करोड १३ लाख २ हजार रुपैयाँबराबरको ५५ लाख ९६ हजार ७७ कित्ता सेयर खरिदबिक्री भएको छ ।
आज १०.७५ प्रतिशत एसबिएल डिबेञ्चर २०८९ को मूल्य सर्वाधिक १० प्रतिशत बढेको छ । त्यस्तै, समता घरेलु लघुवित्त वित्तीय संस्थाको सेयरमूल्य करिब ९ प्रतिशत बढेको छ भने हिमालयन पावर पार्टनरको सयेरमूल्य साढे ७ प्रतिशतभन्दा बढी बढेको छ । कारोबारमा आएको तारागाउँ रिजेन्सी होटलको सेयरमूल्य सर्वाधिक ७.१६ प्रतिशत घटेको छ । त्यसैगरी, भगवती हाइड्रोपावरको सेयरमूल्य ७.३१ प्रतिशत घटेको छ भने एशियन हाइड्रोपावरको सेयरमूल्य ५ प्रतिशतभन्दा बढी घटेको छ ।
कारोबार रकमका आधारमा नेपाल पुनर्बीमा कम्पनी शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको ३२ करोड ४९ लाख ६१ हजार रुपैयाँबराबरको सेयर कारोबार भएको छ। त्यस्तै, दिन १०.७५ प्रतिशत एसबिएल डिबेञ्चर २०८९ को कारोबार रकम साढे २३ करोड रुपैयाँ नाघेको छ भने यूनियन हाइड्रोपावरको साढे १८ करोडभन्दा बढीको सेयर किनबेच भएको छ ।
१३ उपसमूहमध्ये ५ उपसमूहको परिसूचक बढेको छ भने ८ उपसमूहको परिसूचक घटेको छ । व्यापार उपसमूहको परिसूचक सर्वाधिक ३.०५ प्रतिशत बढेको छ । त्यसैगरी, जीवन बीमा, उत्पादन तथा प्रशोधन, निर्जीवन बीमा र व्यापार उपसमूहको परिसूचक सामान्य बढेको छ । घटेका उपसमूहहरूको गिरावटदर १ प्रतिशतभन्दा कम रहेको छ ।











