काठमाडौं । सरकारको मुख्यसचिव पद मंसिर दोस्रो साताबाट रिक्त हुँदैछ । प्रशासनिक क्षेत्रको मुख्य नेतृत्वकर्ताको रुपमा रहेको मुख्यसचिव पद समग्र कर्मचारीका लागि चासोको बिषय हुने गरेको छ ।

वर्तमान मुख्यसचिव एकनारायण अर्यालको पदावधि मंसिर १२ गते सकिंदैछ । एक बर्षअघि १३ भदौ, २०८१ मा मुख्यसचिवमा नियुक्त भएका अर्याल ५८ बर्षे उमेरहदले अवकाशमा जाने भएका हुन् ।
निजामती सेवा ऐनमा आफूअनुकूल प्रावधान राखी ६० बर्षे उमेरहद राख्नका लागि मूल भूमिका खेलेका अर्यालको योजना सफल हुनसकेन । अन्ततः उनी १४ महिना मुख्यसचिव भएर बिदा हुने निश्चित भएको छ । जेनजी आन्दोलनपछि बनेको सरकारले झन्डै उनलाई बर्खास्त गर्न लागेको थियो ।
जेनजी अभियन्ताहरुले पनि उनको राजीनामा माग गरे पनि ३ महिनामात्र बाँकी रहेकाले प्रधानमन्त्री सुशीला कार्कीले उनलाई पदबाट हटाउन चाहिनन् । मन्त्रीद्वय रामेश्वर खनाल र कुलमान घिसिङले अर्याललाई हटाउन प्रधानमन्त्री र जेनजी अभियन्ताहरुलाई उचाल्ने काम गरेका भए पनि जसोतसो उनी टिक्न सफल भएका छन् ।
रिक्त रहेको राजदूत पदमा अर्यालले आँखा लगाए पनि कार्की नेतृत्वको सरकार उनीप्रति सकारात्मक छैन । मन्त्रिपरिषदको बैठकदेखि लिएर प्रधानमन्त्रीको नेतृत्वमा हुने प्रशासनिक बैठकहरुमा अर्याल कार्कीसँग देखिए पनि उनको अनुहार भने कहिल्यै पनि उज्यालो देखिंदैन । निकै तनाव झेलिरहेका अर्याल प्रधानमन्त्रीसँग बाध्यताले उपस्थिति जनाएजस्तो देखिन्छन् । पदावधि सकिन १ महिनाको बीचमा बिदामा बस्न उनीमाथि चर्को दबाब परिरहेको छ ।
अर्यालनिकट स्रोतका अनुसार संभवतः कात्तिक २० गतेभित्रै मुख्यसचिव अर्याल बिदामा बसी मार्गप्रशस्त गर्ने संभावना प्रबल छ । उनी बिदामा बसेपछि प्रधानमन्त्री कार्यालयका चार सचिवमध्ये डा. गोविन्दबहादुर कार्कीलाई निमित्त मुख्यसचिवको जिम्मेवारी दिने तयारी छ ।
मंसिर १२ गते रिक्त हुने मुख्यसचिव पदमा रक्षा मन्त्रालयका सचिव डा. सुमन अर्याललाई नियुक्ति गर्ने स्रोतहरु बताउँछन् । एमाले उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री बिष्णुप्रसाद पौडेलका प्रियपात्रका रुपमा रहेका डा. सुमन अर्याललाई राष्ट्रिय योजना आयोगबाट कार्की नेतृत्वको सरकारले रक्षा मन्त्रालयमा सरुवा गरेको हो ।
अर्याललाई मुख्यसचिव बनाउनका लागि अर्थमन्त्री रामेश्वरप्रसाद खनालको चर्को दबाब रहेको छ । विगतमा अर्थमन्त्रालयमा कार्यरत रही सचिव हुँदासम्म अर्याल उनका निकट रहेर काम गरेकाले खनालले उनलाई मुख्यसचिव बनाउने बचन दिइसकेका छन् । अहिलेको सरकार अर्थमन्त्री खनाल र ऊर्जामन्त्री कुलमान घिसिङकै मार्गचित्रमा अगाडि बढेका कारण प्रधानमन्त्री कार्कीले अर्याललाई मुख्यसचिव बनाउने निर्णय कार्यान्वयनमा शंका गरिरहनुपर्ने देखिंदैन ।
जीवनभर तथ्यांक कार्यालयमा बिताएर त्यहीँबाट सचिव बढुवापछि बिदा भएका अर्यालमा प्रशासनिक क्षमता कमजोर छ । कर्मचारीलाई कमाण्ड गर्ने क्षमता नभएका उनै अर्याल मुख्यसचिव भए भने तथ्यांक समूहबाट पहिलो मूख्यसचिव बन्ने भाग्यमानी हुनेछन् ।











