काठमाडौं । सिक्किमको पाल्जोर रंगशालामा सम्पन्न मैत्रीपूर्ण खेलमा नेपालले भारतलाई पेनाल्टी सुटआउटमा ३–० गोलले पराजित गरेको छ । निर्धारित समयको खेल १–१ गोलको बराबरीमा सकिएपछि खेल पेनाल्टीमा पुगेको थियो ।

नेपालका प्रशिक्षक नवीन न्यौपानेले खेल बराबरीमा पुगेपछि पेनाल्टी स्पेसलिस्ट गोलकिपर अन्जना राना मगरलाई मैदानमा उतारे । उनले मैदानमा उत्रिएलगत्तै उत्कृष्ट प्रदर्शन गर्दै भारतका दुई पेनाल्टी रोकिन् र नेपालको जित सुनिश्चित गरिन् ।
नेपालका लागि पेनाल्टी सुटआउटमा सविता राना मगर, रश्मी कुमारी घिसिङ र निशा थोकरले गोल गरे । अनिता बस्नेतले भने पोस्ट बाहिर प्रहार गरेकी थिइन् ।
पहिलो र दोस्रो पेनाल्टी सफल भएपछि तेस्रो क्रममा आएकी अनिताको प्रहार चुक्दा नेपालले चौथो पेनाल्टीसम्म पर्खिनुपर्यो । अन्ततः चौथो पेनाल्टीमा निशा थोकरले गोल गर्दै नेपाललाई विजयी बनाइन् ।
भारतका लागि पहिलो पेनाल्टी प्रियादर्शनीले प्रहार गरेकी थिइन्, जसलाई नेपाली गोलकिपर अन्जनाले रोकिन् । दोस्रो पेनाल्टी सन्तोषले पोस्टमाथि प्रहार गरिन्, भने तेस्रो पेनाल्टी अष्टम ओरमको प्रहार अन्जनाले सहजै नियन्त्रणमा लिइन् ।
खेलको ३०औं मिनेटमा भारतका सोमिया गुगलोथले दुई डिफेन्डर र गोलकिपरलाई बिट गर्दै गोल गरेकी थिइन् र भारतलाई १–० को अग्रता दिलाएकी थिइन् । तर त्यसपछि नेपालले बराबरी गोल गर्दै खेललाई पेनाल्टीसम्म पुर्यायो र अन्ततः जित दर्ता गर्यो ।
यसअघि पनि नेपालले त्रिदेशीय सिरिजमा भारतलाई २–१ ले पराजित गरेको थियो ।











