काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणमा उत्कृष्ट खेल प्रदर्शन गर्ने तीन खेलाडीलाई बजाज पल्सर मोटरसाइकल दिइने भएको छ ।

बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रमकाबीच नेपाल क्रिकेट सङ्घ (क्यान) र गोल्छा ग्रुपबीच अफिसियल टु ह्विलर पार्टनरसम्बन्धी सम्झौतामा हस्ताक्षर भएको हो । सम्झौता पत्रमा क्यान सचिव पारस खड्का र गोल्छा ग्रुपका निर्देशक अभिमन्यु गोल्छाले हस्ताक्षर गरेका हुन् ।
सम्झौता अनुसार एनपीएलमा सर्वाधिक रन बनाउने, सर्वाधिक विकेट लिने र इमर्जिङ प्लेअरलाई एक–एक वटा पल्सर मोटरसाइकल प्रदान गरिने क्यान सचिव खड्काले जानकारी दिए । उनले एनपीएलको दोस्रो संस्करण पूर्वाधारका हिसावले पनि निकै उत्कृष्ट हुने बताए । एनपीएल व्यवस्थित ढङ्गले आयोजना हुने जानकारी दिँदै उनले क्रिकेट प्रशंसकलाई निराश हुन नदिने उल्लेख गरे । एनपीएलको तयारी अन्तिम चरणमा पुगेको खड्काले जानकारी दिए ।
उनले प्रतियोगिता सुरु हुनु केही दिनअघि पत्रकार सम्मेलन गरेर सम्पूर्ण जानकारी दिने बताए । नेपाल प्रिमियर लिग ९एनपीएल० को दोस्रो संस्करण आगामी मङ्सिर १ गतेदेखि २७ गतेसम्म आयोजना हुँदै छ ।











