काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक स्थगित भएको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा दिउँसो १ बजे बस्ने गरी बोलाइएको बैठक स्थगित भएको हो ।

अब आइतबार दिउँसो १ बजे केन्द्रीय समिति बैठक बस्नेछ । आज महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई भेटेर कार्यतालिका पेस गर्न समय पाउनुपर्ने बताएका थिए ।
आज पनि कार्यतालिका ल्याउन नपाउने हो भने आफू केन्द्रीय समिति बैठकमा उपस्थित नहुने महामन्त्री थापाले जानकारी गराएका थिए । कार्यवाहक सभापति खड्काले एक दुई दिन समय आवश्यक रहेको बताएका थिए ।
यसैबीच नेता डा शेखर कोइराला समूहले आगामी पुस मसान्तभित्र १५औँ महाधिवेशन गर्नुपर्ने निष्कर्ष निकालेको छ । कोइरालाको विशाल नगरस्थित सम्पर्क कार्यालयमा आज बिहान बसेको इतर समूहको बैठकले २१ फागुनको निर्वाचन अगावै महाधिवेशन गर्नुपर्ने निष्कर्ष निकालेको हो ।














