काठमाडौं । काठमाडौंको फोहोर बन्चरेडाँडामा फ्याँक्न रोकिएपछि उपत्यकामा फोहोर थुप्रिएको छ । सडकमा फोहोर थुप्रिँदा शुक्रवार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा वार्ता चलिरहेको छ ।

कुलमान घिसिङले सम्हालेको मन्त्रालयमा बन्चरेडाँडा ल्यान्डफिल साइटका पीडित स्थानीय, जनप्रतिनिधि र सरकारी अधिकारी सहभागी छन् । यसअघि काठमाडौं महानगरसँग भएको १८ बुँदे सहमति कार्यान्वयन नभएको भन्दै स्थानीयले मेयर बालेन्द्र साहको ‘हराएको सूचना’ टाँसेका थिए । त्यसको प्रतिक्रियास्वरूप फोहोरका गाडी बाटैमा अड्किएका छन् ।
वार्तामा आएका स्थानीय युवा निराजन सञ्जेलले १८ बुँदे सहमति अझै कार्यान्वयन नभएकोमा आपत्ति जनाएका छन् । उनले आफूहरूमाथि धादिङ प्रशासनले सार्वजनिक अपराध मुद्दा हालेर दुःख दिएको र काठमाडौंबासीले ‘झोले’ भन्ने गरेको गुनासो गरे । महानगरले मेयरको सट्टा साधारण कर्मचारी खटाएर हेपेको उनको भनाइ छ । ‘हामी फोहोरका कारण मर्न चाहँदैनौँ । या त अहिले नै मर्ने, या समाधान खोज्ने,’ उनले भने । उनले दुई माग राखे- आफूहरूमाथिका मुद्दा खारेजी र मन्त्री घिसिङले बन्चरेडाँडा घुम्नुपर्ने।‘
महानगर र सहरी विकासले एकअर्कामा पठाउँछन् । अब समाधान बन्चरेडाँडामै खोजिनुपर्छ,’ उनले भने । जनप्रतिनिधिमाथि मेयरसँग मिलेमतोको आरोप लागेको र कुलमानसँग आशा रहेको उनले बताए । ‘मन्त्री नभएको थाहा पाए वार्तामै आउने थिएनौँ । अब चिल्ला कुरा मान्दैनौँ,’ उनले चेतावनी दिँदै भने । बालेन्द्र हराएकाले सिंहदरबार खोज्दै आएको र अब सिंहदरबार बन्चरेडाँडामै आउनुपर्ने उनको माग छ ।














