काठमाडौं । नेकपा एकीकृत समाजवादीकी नेतृ रामकुमारी झाँक्रीले पार्टीभित्र बहुमतको आधारमा नेकपा माओवादी केन्द्रसँग एकतामा जाने निर्णय भए पनि आफूहरू सहभागी नहुने बताएकी छन् ।

नेकपा माओवादी केन्द्रसँग वाम एकता नभई मर्जर हुन गइरहेकोले आफूसहितका केही नेताहरू एकता प्रक्रियामा समाहित नहुने उनले स्पष्ट पारिन् ।
पार्टी केन्द्रीय कार्यालयमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले ठूलो सङ्ख्यामा नेता कार्यकर्ताहरू त्यसप्रति असन्तुष्ट रहेको बताइन् । पार्टी मर्जरको प्रक्रियाले वामपन्थी आन्दोलनलाई सुदृढ गर्नुको सट्टा पार्टीभित्र तानाशाही प्रवृत्तिलाई बढुवा दिने उनको भनाइ रहेको छ ।
उनले वाम एकताका लागि एमाले लगायत अन्य राजनीतिक दलहरूसँग संवाद समेत नगरेको कारण दुई पार्टीबीचको मर्जरले मात्र विद्यमान समस्या नटर्ने बताइन् । वाम आन्दोलनलाई बलियो बनाउने कुरा भन्दा पनि केही नेताहरूको व्यक्तिगत एजेन्डा हाबी भएको कारण आफूहरू पार्टी एकतामा सामेल नहुने उनले बताइन् ।














