काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले वर्तमान विकराल परिस्थितिको जिम्मेवारी राजनीतिक नेताहरूमा मात्र नभई जनतामा पनि उत्तिकै रहेको बताएका छन् ।

रूपन्देहीमा शुक्रवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै उनले यस्तो धारणा राखेका हुन् । उनले भ्रष्टाचारीहरूलाई स्वीकार गरी निर्वाचित गराउने जनता पनि उत्तिकै दोषी रहेको उल्लेख गरे । संसद्मा धेरै अघिदेखि बङ्गलादेशको जस्तै हविगत भोग्नुपर्ने चेतावनी दिँदा कसैले नसुनेको स्मरण गर्दै उनले जनतालाई सत्य तथ्य बुझाउन जरुरी रहेको बताए ।
उनले भने, ‘अहिलेको विकराल परिस्थिति भ्रष्टाचारीहरूलाई स्विकारेर निर्वाचित गराउने जनताकै कारण आएको हो । यसमा राजनीतिक दलका नेता मात्र जिम्मेवार छैनन् । मैले पहिलेदेखि नै बङ्गलादेशको जस्तै दुरवस्था भोग्नुपर्नेछ भनेर चेतावनी दिएको थिएँ । सत्य कुरा जनतालाई बुझ्न समय लाग्छ । हाम्रा पनि कमी-कमजोरीहरू होलान्, तर जनतासँग सत्य तथ्य बुझाउनुपर्छ ।’यसैगरी, राजनीतिक दलहरूले आफ्नो स्वार्थका लागि विदेशी मुलुकका मुद्दा बोकेर हिँड्ने गरेको उनको आरोप छ ।














