
मानव स्वभावमा आफ्नो गल्ती अरूमाथि थोपर्ने प्रवृत्ति छ । आफूले काम बिगारे पनि अरूलाई दोष दिनु हाम्रो दैनिकीको अंश बनिसकेको छ । फलानाले बिगारेको, ढिस्कानाले बिगारेको । अनि आफूचाहिँ दूधले नुहाएको देखिने कोसिस गर्छाैँ ।
आजको प्रविधिको युगमा, यो प्रवृत्ति अझ सजिलो बनेको छ । गल्तीको जिम्मा एआईलाई लगाइदिन्छौँ । दोष सबैको एआईकै टाउकोमा ! आफूलाई महान् देखाउन एआईको प्रयोग । अरूलाई निकृष्ट देखाउन पनि एआईकै प्रयोग । क्या गज्जबको प्रविधि ! विदेशीले बनाएको प्रविधि ।
एआईलाई दोष दिने त्यो चलन अब केवल हास्यास्पद मात्र होइन, खतरनाक पनि हुँदै गएको छ । नेताहरूले, उच्च तहका व्यक्तिले, प्रहरी प्रशासन सबैले एआईलाई ‘दोषी’ बनाएर आफ्ना गलत काम र असफलतालाई छोप्न थालेका छन् ।
यो प्रवृत्तिका केही ताजा उदाहरण हो-कांग्रेस सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा । जेनजी आन्दोलनको ३५ दिनपछि सार्वजनिक देउवाले ‘एआई कार्ड’ खेले ! आन्दोलनमा आफू र श्रीमती आरजु राणा कुटिएको सत्य, आफ्नो घर जलेको सत्य, सामान जलेको सब सत्य भने । तर, घरमा भेटिएको पैसा एआईले बनाएको भन्दै हास्यास्पद प्रतिवाद गरे ।
देउवाले एआई भन्नसमेत जानेका थिएनन् ! ‘यो लगाएको के नाम रे त्यो…’ भन्दै अड्किरहेका थिए । कार्यकर्ताले ‘एआई, एआई, एआई….’ भनेर सिकाए । त्यसपछि उनले पनि भनिदिए– एआई, एआई ….।’ पररर… ताली बज्यो ।
तर, देउवाको घरमा नेपाली रुपैयाँदेखि अमेरिकन डलरसम्म भेटिएको पुष्टि भइसकेको छ । सामाजिक सञ्जालमा प्रमाण र तथ्यहरू छरपस्ट हुँदा पनि देउवाले भने एआईले बनाएको भन्दै झुट बोलिरहेका छन् । घरमा अकुत सम्पत्ति थोपार्ने देउवा दम्पती, दोष एआईलाई । … लाई भन्दा देख्नेलाई लाज !
दुई वर्षअघि आरजुले पनि यस्तै एआई कार्ड खेलेकी थिइन् । नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने प्रकरणमा उनी मुछिएकी थिइन् । त्यतिबेला सार्वजनिक अडिओमा दाङका सन्देश शर्माले उनीहरूलाई करोडौँ रकम दिएका कुरा उल्लेख गरेका थिए ।
आरजुले त्यो अडियो पनि एआईले बनाएको दाबी गरिन् । अनि, अडियो सार्वजनिक गर्नेविरुद्ध उजुरी दिइन् । प्रहरीले परीक्षण गर्दा अडियो आरजुको नाम लिएका सन्देश शर्माको आवाजसँग मेल खाएको पुष्टि भयो । तर, सत्ता र शक्तिको प्रभावको कारण छानबिन भने भएन । यस्ता उदाहरणहरूले केवल नेताहरूको बचाउको तरिका मात्र देखाउँदैनन् । कसरी ‘प्रविधिलाई बहाना’ बनाएर शक्ति संरक्षण गरिन्छ भन्ने पनि देखाउँछ ।
नेताले मात्र होइन, प्रहरी प्रशासनले समेत एआईमाथि दोष थोपार्ने चलन छ । गत चैत १५ गते काठमाडौंको तीनकुनेमा राजावादीहरूले प्रदर्शन गर्दा अधिक बल प्रयोग भयो । गम्भीर सुरक्षा चुक लुकाउन नेपाल प्रहरीले चैत २० गते पत्रकार सम्मेलन गरेर झुटो दाबी गर्यो । प्रहरीका तत्कालीन प्रवक्ता एवं नायब महानिरीक्षक दिनेशकुमार आचार्यले राष्ट्रिय गान बज्दा–बज्दै अश्रुग्याँस प्रहार भएको दाबी झुटो ठहराए ।
उनी यतिमा मात्र रोकिएनन्, राष्ट्रिय गान बज्दा–बज्दै मञ्चमै अश्रुग्याँस प्रहार भएकोबारे भाइरल भएको भिडियोलाई डिपफेकसमेत भन्न भ्याए । तर, घटना भएको चार दिनपछि पत्रकार सम्मेलन गरेर प्रहरीले भिडियो नै डिपफेक भनेपछि यसबारेमा ‘नेपाल फ्याक्ट चेक’ले तथ्य जाँच ग¥यो । सो क्रममा प्रहरीले झुटो दाबी मात्र गरेन, जनतालाई गुमराहमा समेत राख्न खोजेको पुष्टि भयो ।
यो त ठूला घटनाका केही उदाहरण मात्रै हुन् । हामी दिनहुँ एआईलाई दोष थोपारेर आफू चोखो बनिरहेका छौँ । यो सब देख्दा÷सुन्दा लाग्छ– एआईले नै देश बरबाद पारिरहेको छ ! नेता, मन्त्री, कर्मचारी सबै चोखा, कसैले एक पैसा पनि घूस खाएका छैनन् । सबै घुस खाने एआई ! यो एआई देश बिगार्ने महारथी बनेको छ !
यो एआईले के–के गरेन ? बाटो खन्ने ठेक्का गलत कम्पनीलाई दियो ! सरकारी कोषको हिसाबकिताबमा गडबड ग¥यो ! भ्रष्टाचार त एआईको जन्मसिद्ध अधिकारजस्तै भयो ! नेताजीको स्विस बैंक खातामा पैसा पठाउन होस् वा सरकारी बजेट गायब पार्न, यो एआईले सबै काम एक क्लिकमा गरिदिन्छ ! बाढी आयो, बिजुली गयो, स्कूल बन्द भयो सबैको दोषी एआई ।
यो एआई यस्तो खतरनाक चीज हो कि यसले नेताजीको भाषण पनि लेख्छ, अनि त्यही भाषणमा ‘भ्रष्टाचार हटाउँछु’ भन्ने वाक्य राखिदिन्छ । तर पछि भ्रष्टाचार भयो भने फेरि एआईकै गल्ती ! बिचरा नेताहरू सधैँ सत्यको पक्षमा, तर यो एआईले तिनको इमानदारीमाथि धब्बा लगाइरहन्छ । हाम्रा नेताहरू त सधैँ चोखा छन्, बिगार्ने त यो एआई मात्र हो ! कामचोर एआई ! ठग एआई ! भ्रष्टाचारी एआई ! दलाल एआई ! अपराधी एआई ! देशका खोलानाला बेच्ने एआई ! कुन दिन यो एआईले देशै बेचिदिन्छ भन्ने डर !
तर, हामी निराश हुनुपर्दैन । हाम्रो देशको आत्मा यति बलियो छ कि एआईले जति कोसिस गरे पनि हामीलाई बरबाद बनाउन सक्दैन । हामीले नेताहरूलाई जस्तोसुकै अवस्थामा पनि भोट दिन्छौँ । यो देशलाई बरबाद बनाउने तागत न नेतामा छ, न एआईमा । किनभने, हामी नेपाली हौँ– हाम्रो बरबादी नै हाम्रो गर्व हो !
हामीले बुझ्नुपर्ने कुरा के हो भने एआईले देश बरबाद गर्दैन । तर मानिसहरूले एआईलाई बहानाको रूपमा प्रयोग गर्दा, एआईले गलत निर्णयहरू छोप्न र शक्ति दुरुपयोगलाई कसिलो बनाउने उपकरण बनाइदियो भने त्यसले निश्चित रूपमा प्रणालीलाई कमजोर पार्छ । एआईको नाममा नै हाम्रो सार्वजनिक जीवन, संस्थागत जबाफदेहिता र लोकतान्त्रिक स्वास्थ्य बिग्रँदै जान्छ ।
यदि, हामी साँच्चै देशलाई जोगाउन चाहन्छौँ भने एआईविरुद्धको अन्धो आरोपबाट बाहिर निस्कनुपर्छ । सबैले आत्मालोचना गर्नुपर्छ । जब गल्ती मानवबाटै भएको छ, त्यसको जिम्मेवारी लिनु नै सही बाटो हो । एआईलाई बहाना बनाएर हामीले आफ्नै समृद्धि र इमानदारितालाई खोस्दै छौँ ।
देश बरबाद पार्ने शक्ति कुनै बाह्य ‘टूल’ मा छैन । त्यो त हाम्रो नै व्यवहार र आचरणमा छ । हामीले यदि त्यही बदल्न छोड्यौँ भने एआईको नाममा असल र दुराचारीबीचको अन्तर नै हराउने छ । र, त्यसको मूल्य असाध्यै महँगो हुनेछ ।











