काठमाडौं । नेकपा (एकीकृत समाजवादी)मा यतिबेला आन्तरिक विवाद चुलिएको छ । माओवादीसहितका विभिन्न वामपन्थी दलहरूसँग पार्टी एकताको गृहकार्य अघि बढेपछि पार्टीभित्र विभाजनको जोखिम बढेको छ ।

अध्यक्ष माधवकुमार नेपाल र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच लामो समयदेखि पार्टी एकताको प्रयास चल्दै आएको छ । आगामी फागुन २१ गतेका लागि तय गरिएको प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै दुवै नेताबीचको एकता प्रयास अन्तिम चरणमा पुगेको छ ।
माधवले केन्द्रीय कमिटी बैठकबाट माओवादी केन्द्रसँग पार्टी एकता गर्ने निर्णय नै गराइसकेका छन् । आज (शुक्रबार) बैठकमा अध्यक्ष माधवले माओवादी केन्द्र र महिन्द्र राय यादव नेतृत्वको नेसपासँगको एकतालाई अनुमोदन गरेको निर्णय सुनाएका हुन् । उनको प्रस्तावलाई हलले ताली बजाएर अनुमोदन गरेको छ ।
तर, माओवादीसँगको एकता गर्ने निर्णयले एकीकृत समाजवादीभित्र ठूलो विवाद निम्त्याएको छ । अध्यक्ष नेपाल र वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डे एकताको पक्षमा उभिँदा, सम्मानित नेता झलनाथ खनाल र महासचिव घनश्याम भुसाल माओवादीसँग एकताको विरोधमा छन् । पार्टीभित्र केन्द्रदेखि स्थानीय तहसम्मका नेता–कार्यकर्ता एकताको पक्ष र विपक्षमा विभाजित भएका छन् ।
नयाँ पार्टी बनाउने झलनाथको घोषणा
सम्मानित नेता झलनाथ खनालले पार्टी पुनर्गठन गर्ने घोषणा नै गरेका छन् । नेता खनालले अध्यक्ष नेपालले एमालेबाट विद्रोह गरेर बनाएको पार्टीलाई अन्ततः माओवादीमा लगेर ’विसर्जन’ गरेको आरोप लगाएका छन्। त्यसपछि बैठक हलमा होहल्ला मच्चिएको थियो ।
झलनाथ बैठकमा बोलिछाड्ने अडान लिएपछि नेपाल बैठक सकियो भन्दै हलबाट बाहिरिएका थिए । बैठकमा आफूलाई बोल्न नदिई माइक काटिएको भन्दै उनले नेपालले तानाशाही प्रवृत्ति देखाएको गुनासो गरे। ’विद्रोहदेखि विसर्जनसम्म माधव कमरेडको यात्रा टुङ्गियो,’ खनालको भनाइ छ,’हामी यही पार्टीका साथीहरू मिलेर नेकपा (एकीकृत समाजवादी) पुनर्गठन गर्छौँ। नभए नयाँ बनाउँछौँ ।
संस्थापन पक्षसँग पदाधिकारीदेखि केन्द्रीय सदस्यसम्म बहुमत रहेकोले जारी केन्द्रीय समिति बैठकले माओवादीसँग एकताको निर्णय गर्ने सम्भावना बलियो देखिएको छ ।
बैठकले ठोस निष्कर्ष निकाल्न नसके पनि बहुमतको आधारमा अध्यक्ष नेपाललाई एकताको अधिकार दिने तयारी संस्थापन पक्षको रहेको छ । तर, यस्तो अवस्थामा विपक्षी खेमाले राष्ट्रिय भेला बोलाएर वैकल्पिक बाटो लिने रणनीति बनाएको छ। अध्यक्ष नेपाल पक्षधरहरू आसन्न निर्वाचन र राष्ट्रिय राजनीतिक परिस्थितिलाई देखाउँदै एकताको पक्षमा वातावरण बनाउन जुटिरहेका छन् ।
सम्मानित नेता झलनाथ खनाल र महासचिव घनश्याम भुसाल माओवादीसँग एकता नभई पार्टी पुनर्गठन गर्नुपर्ने तर्क गरिरहेका छन् । उनीहरूले अध्यक्षको राजीनामा र पार्टी पुनर्गठनको माग समेत गरेका छन् ।
कुन नेता कता ?
२०७८ साल भदौमा नेकपा (एमाले)बाट फुटेर एकीकृत समाजवादी गठन भएको थियो। तत्कालीन अध्यक्ष ओलीसँगको तिक्तताको कारण माधव नेपाल समूहले नयाँ दल बनाएको थियो । तर, गठन भएको चार वर्षमै पार्टी पुनः विभाजनको संघारमा पुगेको छ ।
माओवादीसँग एकताका पक्षमा बहुमत केन्द्रीय सदस्य उत्साहित छन् भने विपक्षी खेमाले फुटको चेतावनी दिइरहेका छन् । करिब ११ नेताले माओवादीसँग एकता नगर्ने स्पष्ट बताएका छन् ।
सम्मानित नेता झलनाथ खनाल, वरिष्ठ नेता घनेन्द्र बस्नेत र महासचिव घनश्याम भुसालले एकतामा नजाने घोषणा गरिसकेका छन् । स्थायी समिति सदस्य विजय पौडेल, जीवनराम श्रेष्ठ र रामकुमारी झाँक्री पनि माओवादीसँग एकतामा नजाने बताइएको छ ।
त्यस्तै पोलिटब्युरो सदस्य धर्म निरौला, महेश रेग्मी, लक्ष्मण लम्साल, दामोदर अर्याल र अच्युत घिमिरे पनि एकता प्रक्रियाबाहिर रहने तयारीमा छन्। उनीहरू एमाले फर्कने वा नयाँ मोर्चा बनाउने विकल्पमा छन् ।
एकताको पक्षधरहरू
एकताको पक्षमा अध्यक्ष माधवकुमार नेपाल, वरिष्ठ नेता डा. बेदुराम भुसाल र प्रमेशकुमार हमाल, वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डे, उपाध्यक्षहरू प्रकाश ज्वाला, डा. गंगालाल तुलाधर र जगन्नाथ खतिवडा, उपमहासचिवहरू राजेन्द्र राई, मेटमणि चौधरी र रामकुमार भट्टराई, तथा सचिवहरू सावित्रा भुसाल, सोम पाण्डेय, श्रीनाथ बराल, गणेश विश्वकर्मा र शेरबहादुर कुँवर छन् ।
वरिष्ठ नेता वामदेव गौतम, उपाध्यक्षहरू भानुभक्त जोशी र जयन्ती राई तथा सचिव चन्द्रबहादुर शाही भने मध्यमार्गी लाइनमा छन् ।
एकतामा जाँदैनौंः रामकुमारी
नेकपा एकीकृत समाजवादीकी नेतृ रामकुमारी झाँक्रीले पार्टीभित्र बहुमतको आधारमा नेकपा माओवादी केन्द्रसँग एकतामा जाने निर्णय भए पनि आफूहरू सहभागी नहुने बताएकी छन् ।
नेकपा माओवादी केन्द्रसँग वाम एकता नभई मर्जर हुन गइरहेकोले आफूसहितका केही नेताहरू एकता प्रक्रियामा समाहित नहुने उनले स्पष्ट पारिन् ।
पार्टी केन्द्रीय कार्यालयमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले ठूलो सङ्ख्यामा नेता कार्यकर्ताहरू त्यसप्रति असन्तुष्ट रहेको बताइन् । पार्टी मर्जरको प्रक्रियाले वामपन्थी आन्दोलनलाई सुदृढ गर्नुको सट्टा पार्टीभित्र तानाशाही प्रवृत्तिलाई बढुवा दिने उनको भनाइ रहेको छ ।
उनले वाम एकताका लागि एमाले लगायत अन्य राजनीतिक दलहरूसँग संवाद समेत नगरेको कारण दुई पार्टीबीचको मर्जरले मात्र विद्यमान समस्या नटर्ने बताइन् । वाम आन्दोलनलाई बलियो बनाउने कुरा भन्दा पनि केही नेताहरूको व्यक्तिगत एजेन्डा हाबी भएको कारण आफूहरू पार्टी एकतामा सामेल नहुने उनले बताइन् ।
एमालेमा फर्किन फर्कन आह्वान
नेकपा एस फुटको संघटमा हुँदा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टी छोडेर विभिन्न दल आवद्ध भएकालाई फर्कन आह्वान गरेका छन् ।
उनले सामाजिक सञ्जालमार्फत आफ्नो घर फर्कन आह्वान गरेका हुन् । उनले लेखेका छन्, ‘निरंकुशताको अन्धकार हटाएर लोकतन्त्रको उज्यालो फैलाउने संघर्षमा नेकपा (एमाले)ले सधैं अग्रपंक्तिमा रहेर नेतृत्वदायी भूमिका खेल्यो। अनेकौं प्रहार खेपेर राष्ट्रिय स्वाधीनता जोगाउने बलियो कवच यही पार्टी बन्यो।’
ओलीले भनेका छन्, ‘एमाले केवल एउटा राजनीतिक संगठन होइन । यो जनताको रगत, पसिना, आँसु र आशाबाट बनेको विशाल परिवार हो। यस पार्टीको जग बसाल्न तीन पुस्ताले आफ्नो जीवनका उज्याला क्षण समर्पण गरेका छन्। कसैले जेलयातना भोगे, कतिले जीवन बलिदान गरे, कसैले आफ्नो युवावस्था आन्दोलनमा अर्पण गरे, र धेरैले सानो–ठूलो योगदान गरेर यो घरलाई अड्याए ।’
उनले सबै एकै दिशामा अघि बढ्नुपर्ने आह्वान गर्दै भनेका छन्, ‘आज फेरि महाविनाश निम्त्याएर देशको सार्वभौम अस्तित्वमाथि चुनौती खडा गरिएको छ, लोकतान्त्रिक संविधानमाथि आक्रमण भइरहेको छ। यस्तो बेला हामी मौन रहन सक्दैनौं। राष्ट्रिय एकता, देशको स्वाभिमान, र लोकतन्त्रको रक्षाका लागि हामी सबै एकै मन, एकै स्वर र एकै दिशामा अघि बढ्नुपर्छ।’
विगतमा एमाले बनाउन र एमालेलाई बलियो बनाउन सँगै यात्रामा रहेका सबैलाई उनले एमालेमा फर्कन आह्वान पनि गरेका छन् । ओलीले भनेका छन्, ‘विगतमा नेकपा (एमाले)को निर्माण गर्न र यसलाई बलियो बनाउने यात्रामा सँगै हिँड्नु भएका सबै नेता–कार्यकर्तालाई हृदयदेखि आह्वान गर्न चाहन्छु ।’
ओलीले आह्वान गर्दै लयात्मक रुपमा लेखेका छन्,
‘जहाँ हुनुहुन्छ, फर्किनुस् आफ्नै घर फर्किनुस्।
यो घर तपाईंहरूको पसिना र रगतले बनेको हो।
फेरि हामी सबै काँधमा काँध मिलाएर अघि बढौं ।
देशको स्वाधीनता जोगाऔं, लोकतन्त्रको रक्षा गरौं, र जनताको जीवनमा सुख, समृद्धि र आशाको ज्योति बालौं।
हामी एउटै परिवार हौं ।
हाम्रो लक्ष्य स्पष्ट छ ।
समृद्ध नेपाल, सुखी नेपाली।
म सबैमा आह्वान गर्न चाहन्छु ।
कोही अलमलमा नपर्नुस्, आउनुस्, आफ्नै घरमा ।
हाम्रो साझा सपना साकार पार्न ।
निर्णायक राष्ट्रिय शक्ति निर्माणमा जुटौं।’














