काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले केही देशका नेपाली राजदूतहरूले विदेशी मुलुकहरूलाई ‘यो सरकार लामो जाँदैन’ भन्दै ब्रिफिङ गरेको पाइएपछि उनीहरूलाई फिर्ता बोलाउने निर्णयमा पुगेको बताएकी छन् ।

चुनावी सरकारले ११ जना राजदूत फिर्ता बोलाएको विषयमा आलोचना भइरहेका बेला प्रधानमन्त्री कार्कीले शुक्रवार बालुवाटारमा सम्पादकहरूसँगको भेटमा सो कुरा खोलेकी हुन् । हाम्रा केही राजदूतले सम्बन्धित मुलुकहरूमा बैठक गरी यो सरकारको काम छैन, धेरै टिक्दैन भन्दै ब्रिफिङ गरेका रहेछन् । सरकारको अस्थित्व नै नस्विकार्ने काम गरेको थाहा पाएपछि हामीले फिर्ता बोलायौँ,’ उनले भनिन्, ‘केहीका आर्थिक अनियमितताका कुरा पनि जोडिएका छन् ।’
उनले तीन जना राजनीतिक नियुक्तिका महिला राजदूतको प्रदर्शन राम्रो देखिएकाले फिर्ता नबोलाएको बताइन् । केही राजदूतको भने काम कमजोर भएकाले फिर्ता बोलाएको जानकारी दिइन् ‘ राजनीतिक नियुक्तिका भन्दा क्यारियर राजदूतहरूको प्रदर्शन राम्रो छ,’ उनले भनिन् । उनले राजदूत फिर्ता बोलाउँदा लाग्ने खर्च धेरै हुने भए पनि यो निर्णयमा पुगेको उल्लेख गरिन् ।














