काठमाडौं । आइसीसी विश्व क्रिकेट लिग-२ अन्तर्गतको त्रिकोणात्मक शृङ्खलाको आफ्नो तेस्रो खेलमा नेपालले संयुक्त राज्य अमेरिकालाई २७२ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

दुबईस्थित आइसीसी एकेडेमीको मैदानमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले ४९.५ ओभरमा सबै विकेट गुमाएर २७१ रन बनायो । नेपालका लागि दीपेन्द्र सिंह ऐरीले उत्कृष्ट ब्याटिङ गर्दै सर्वाधिक ७५ रनको योगदान दिए । उनले ६७ बलको सामना गर्दै ३ चौका र २ छक्का प्रहार गरे ।
त्यसैगरी, अन्तिम ओभरतिर विष्फोटक ब्याटिङ गरेका करण केसीले मात्र ३१ बलमा २ चौका र ३ छक्कासहित ४९ रन जोडेर टोलीलाई सम्मानजनक स्कोरसम्म पुर्याएका हुन् ।
यसअघि, नेपालका लागि ओपनर कुशल भुर्तेलले ४७, भीम सार्कीले ४३ तथा कप्तान रोहित पौडेलले ३६ रन बनाएका थिए । अन्य ब्याट्सम्यानहरूले भने उल्लेख्य प्रदर्शन गर्न सकेनन् ।
अमेरिकाका लागि बलिङतर्फ हरमीत सिंहले उत्कृष्ट प्रदर्शन गरे। उनले १० ओभरमा ३३ रन खर्चेर ३ महत्त्वपूर्ण विकेट लिए । त्यस्तै, नोस्थुश केन्जिगे र सौरभ नेत्रवलकरले पनि समान २-२ विकेट हात पारे।
जारी शृङ्खलामा नेपाल आफ्नो पहिलो जितको खोजीमा छ। यसअघि नेपाल पहिलो खेलमा अमेरिकासँग र दोस्रो खेलमा घरेलु टोली युएईसँग पराजित भएको थियो ।











