काठमाडौं । काठमाडौं उपत्यकाको फोहोर बन्चरेडाँडा ल्यान्डफिल साइटमा विसर्जन गर्न पाँच दिनदेखि जारी अवरोध आइतबार अन्ततः हटेको छ । सडकमै अलपत्र परेका र फोहोर लोड भएका गाडीहरू अवरोध हटेपछि साइटतर्फ प्रस्थान गरेका छन् ।

सहरी विकासमन्त्री कुलमान घिसिङले स्थानीयका माग पूरा गर्ने प्रतिबद्धता जनाएपछि अवरोध खुलेको हो । समस्या समाधानका लागि मन्त्री घिसिङ, सहरी विकास सचिव गोपाल सिग्देल, काठमाडौं, नुवाकोट र धादिङका प्रमुख जिल्ला अधिकारी तथा काठमाडौं महानगरका कार्यकारी अधिकृतसहितको टोली आइतबार बिहान बन्चरेडाँडा पुगेको थियो ।
टोलीले फोहोर विसर्जन स्थलको निरीक्षण गरी धादिङको धुनिबेंसी नगरपालिका प्रमुख, नुवाकोटको ककनी गाउँपालिका अध्यक्ष, प्रभावित वडाध्यक्ष र स्थानीयसँग अन्तर्क्रिया गरेको थियो । मन्त्री घिसिङले विगतका सहमति कार्यान्वयन गर्ने प्रतिबद्धता जनाउँदै १५ दिनको समय मागेका छन् ।
‘मैले सबै सहमति अध्ययन गरेको छु, अब कार्यान्वयन गर्छु,’ उनले भने, ‘अवरोध हटाएर सन्देश दिनुहोस्, बल प्रयोग होइन, संवादबाट समस्या समाधान गर्छौँ।’ उनले अल्पकालीन र दीर्घकालीन योजना अगाडि बढाउने, नीतिगत निर्णय लिने बताए । लिच्चड व्यवस्थापनका लागि मन्त्रालयको संयोजनमा सरोकारवाला समिति गठन हुने भएको छ ।
बिग्रिएको पम्प तत्काल सञ्चालन गरी लिच्चड रिसाइकल गरिने भएको छ । जथाभाबी फोहोर फाल्ने गुनासो सम्बोधन गर्न मन्त्रालय, महानगर र प्रभावित पालिकाका प्रतिनिधिसहित अनुगमन समिति बन्ने भएको छ । रात्रिकालीन व्यवस्थापनका लागि सोमबारदेखि बत्ती जडान सुरु गर्न प्राधिकरणलाई निर्देशन दिइएको छ । वैज्ञानिक व्यवस्थापनका लागि फोहोर छुट्याउने सार्वजनिक जग्गा स्थानीय तहलाई उपलब्ध गराउन मन्त्रिपरिषद्बाट निर्णय लिइने भएको छ ।
पूरक ईआईएका लागि समय लाग्ने भएकाले प्रभावित क्षेत्र यकिनपछि जग्गा अधिग्रहण गरिने उनले बताए । दीर्घकालीन समाधानका लागि लगानी बोर्डको कानुनी अडचन मेयर्स फोरमसहित हटाइने छ ।














