काठमाडौं । नेकपा (एमाले) का नेता महेश बस्नेतले जेनजी आन्दोलनका क्रममा भदौ २४ गते आफूहरू नभागेको दाबी गरेका छन् । आइतबार आयोजित एक समारोहलाई सम्बोधन गर्दै उनले त्यो दिन एमाले नेताहरू भागेको नभई सुरक्षित स्थानमा बसेको स्पष्ट पारेका हुन् ।

‘भदौ २३ र २४ गते तिमीहरू भाग्यौ भन्छन्। जसरी भूकम्पको बेला हामी सबै घरबाट बाहिर निस्कन्छौँ र जीर्ण घरमा बसेकाहरू जोखिममा पर्छन्,’ बस्नेतले भने, ‘त्यसैगरी २३ र २४ गते हामी सुरक्षित बसेका हौँ, सुरक्षित रहेका हौँ।’ कुनै आन्दोलनमा त्यस्तो स्तरको हिंसा हुन्छ भन्ने आफूले कल्पना पनि नगरेको उनले बताए । ‘जेनजीको नाममा नेपाली मन भएका व्यक्तिले सिंहदरबार जलाउन सक्दैनन् । जलाउनेहरू आतङ्ककारी हुन् । आतङ्ककारीबाट हामी त्यो दिन बचेका हौँ,’ बस्नेतले भने ।
सर्वोच्च अदालत जलाउनेहरू पनि आतङ्ककारी र विदेशी दलाल भएको उनको दाबी छ । ‘त्यो लुसिफर हो । त्यो दिन हामी सुरक्षित बसेकै हौँ,’ उनले भने ।दलहरूका गतिविधि कम देखिएको भन्दैमा दलहरू सकिएको नठान्न पनि बस्नेतले चेतावनी दिए । ‘तिम्रा गुरुहरूलाई गएर सोध-जसले तिमीलाई उचालेको छ, भड्काएको छ । जसले बारबारा फाउन्डेसनको नाममा नेपालमा लगानी गरेको छ । तिम्रा गुरुबा-गुरुआमाको देशमा लोकतन्त्र छ कि छैन ?’ बस्नेतले प्रश्न गर्दै भने ।














