
काठमाडौं । आइसिसी एकदिवसीय महिला विश्वकपको उपाधि भारतले जितेको छ । गएराति मुम्बईको डिवाई पाटिल स्पोट्र्स एकेडेमीमा भएको फाइनल खेलमा दक्षिण अफ्रिकालाई ५२ रनले हराउँदै भारतले विश्वकपको उपाधि जितेको हो ।
जितसँगै भारतीय महिला टोलीले इतिहास रचेको छ । एकदिवसीय विश्वकपमा ऊ पहिलोपटक च्याम्पियन बनेको हो ।
फाइनल खेलमा भारतले २९९ रनको लक्ष्य दिएकोमा दक्षिण अफ्रिकी टोली ४५.३ ओभरमा अल आउट हुँदै २४६ रनमा समेटिएको थियो ।
भारतका लागि दिप्ती शर्माले पाँच विकेट लिइन् । उनले ९ ओभरमा ३९ रनमात्रै खर्चिएकी थिइन् । त्यस्तै सफाली वर्माले २ र श्री चरणीले एक विकेट लिइन् ।
दक्षिण अफ्रिकाकी ओपनर तथा कप्तान लाउरा उलवार्टले १०१ रन बनाएर शतकीय पारी खेलिन्। उनले ९८ बलमा ११ चौका र १ छक्का हानेकी थिइन् ।
त्यस्तै अनिरी डेर्कसेनले ३७ बलमा १ चौका र २ छक्का प्रहार गर्दै ३५ रन बनाइन्। सुनी लुसले २५, ताज्मिन ब्रिट्सले २३, नदिन डि क्लेर्कले १८ तथा सिनालो जाफ्टाले १६ रन जोडिन्।
पहिले ब्याटिङ गरेको भारतले पूरा ओभर खेलेर ७ विकेटको क्षतिमा २९८ रन बनाएको थियो। भारतका लागि ओपनर सफाली वर्माले सर्वाधिक ८७ रन बनाइन्। उनले ७८ बलमा ७ चौका र २ छक्का हानिन्।
त्यस्तै दिप्ती शर्माले ५८ बल खेलेर ३ चौका र १ छक्का प्रहार गर्दै ५८ रन बनाइन्। अर्की ओपनर स्मृति मन्धनाले ५८ बलमा ८ चौका प्रहार गर्दै ४५ रन जोडिन्।
रिचा घोषले ३४, जेमिम रोद्रिगेजले २४, कप्तान हर्मनप्रित कौरले २० र अमनजोत कौरले १२ रनको योगदान गरे।
बलिङतर्फ दक्षिण अफ्रिकाकी आयाबोंगा खाकाले ३ तथा नोनकुलुलेको एमलाबा, नदिन डि क्लेर्क र कोल ट्रियोनले एक÷एक विकेट लिइन्।
भारतले सेमिफाइनलमा अस्ट्रेलियालाई पराजित गर्दै फाइनल पुगेको थियो । इंग्ल्याण्डलाई पराजित गर्दै दक्षिण अफ्रिका पनि फाइनलमा पुग्दै भारतसँगको भेट पक्का गरेको थियो ।











