Logo
Logo

भिजिट भिसामा ६ बुँदे मापदण्ड खारेज : दुरुपयोग कि रोकथाम ?


504
Shares

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट भिजिट भिसा दुरुपयोग प्रकरणमा एक सहसचिव सहित दर्जनौ सरकारी कर्मचारीमाथि छानबिन गरिरहेको छ । तत्कालीन गृहमन्त्री रमेश लेखकको समयमा तीर्थराज भट्टराई लगायतका दर्जन कर्मचारीले भिजिट भिसा दुरुपयोग गरेर दैनिक लाखौँ रुपैयाँ अपचलन गरेको आरोपपछि अख्तियारको अनुसन्धान जारी रहेको छ ।

भट्टराई लगायतका कर्मचारीमाथि अनुसन्धानको नतिजा आइसकेको छैन । जेठ ७ मा पक्राउ परेका भट्टराई हाजिर जमानीमा निरन्तर अख्तियारको सम्पर्कमा रहेका छन् । तर भिसाको दुरुपयोग गर्दै ठूलो रकमको चलखेल गर्ने गरी हुने कामहरू अब रोकिएला कि भन्ने अपेक्षा गरेका बेला सरकारले भिजिट भिसामा विदेश जानेहरूका लागि मापदण्ड नै परिमार्जन गरेको छ ।

अध्यागमन विभागले गरेको तयारीलाई सरकारले अन्तिम रुप दिएपछि भिजिट भिसामा हुने संगठित ठगी रोकिने अपेक्षा गर्न थालिएको जनाएको छ । तर, भिजिट भिसाको दुरुपयोग हुनसक्ने खतरा भने उत्तिकै रहेको छ ।

भिजिट भिसामा विदेश जानुपर्ने यात्रुले विमानस्थलमा सास्ती खेप्ने गरेका थिए । विमानस्थलमा सेटिङ भएकाहरू जस्तोसुकै अवस्थामा पनि विदेश जान सक्ने र सेटिङ गर्न नसक्नेहरू बलियो आधार हुँदा पनि फर्किनुपर्ने बाध्यता थियो ।

यसरी विमानस्थलमा कोडकै आधारमा असुली हुने गरेपछि तत्कालीन प्रधानमन्त्री केपी ओली र गृहमन्त्री रमेश लेखकले संसददेखि सडकसम्मै अनेकन आरोप खेपेका थिए । संसदीय छानविन समिति नै बनेको थियो । गएको असार १० गते सरकारले पूर्वमुख्यसचिव शङ्करदास बैरागीको संयोजकत्वमा सात सदस्यीय समिति गठन गरेको थियो । यो समितिले काम गर्ने भनिएपनि विवाद भने जहाँको त्यही थियो । त्यसबेला भिजिट भिसाकै विषयमा प्रतिपक्षी दलमा विशेषतः राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले संसद अवरुद्ध गरेका थिए ।

 यसरी संसददेखि सडकसम्म भिजिट भिसाबारे प्रश्न उठेपछि विमानस्थलमा समेत कडाई गर्ने गरिएको थियो । तर, यहि प्रावधानका कारण पनि सेटिङ थप चर्किनसक्ने भन्दै समाधान खोज्नका लागि अध्यागमनले अध्ययन गरिरहेको थियो । केपी ओली नेतृत्वको सरकार ढलेपछि बनेको अन्तरिम सरकारले अब भने अध्यागमनले तयार पारेको मापदण्डलाई अघि बढाउने भएको हो । विभागले मापदण्ड फेर्दै भिजिट भिसामा जानेहरूका लागि नयाँ मापदण्ड लागू गर्ने जनाएको छ । यसले अब भिजिट भिसामा विदेश घुम्न जाने नेपालीहरूले केही सर्त तथा नियमहरू भने पालना गर्नुपर्नेछ ।

भिजिट भिसामा विदेश जानुपर्ने यात्रुले विमानस्थलमा सास्ती खेप्ने गरेका थिए । विमानस्थलमा सेटिङ भएकाहरू जस्तोसुकै अवस्थामा पनि विदेश जान सक्ने र सेटिङ गर्न नसक्नेहरू बलियो आधार हुँदा पनि फर्किनुपर्ने बाध्यता थियो ।

यसअघिको भिजिट भिसा सम्बन्धिको व्यवस्थाले नागरिकको थप लागत बढेको भन्दै विभागले मापदण्ड परिमार्जन गरेको जनाएको छ । भिजिट भिसा सहज र खुकुलो बन्दा मानव तस्करी थप मौलाउन सक्ने खतरा भने बढेको छ । यो भन्दा पहिले दुईतर्फी हवाई टिकट, होटेल बुकिङ, ५ सय अमेरिकी डलर जस्ता थुप्रै प्रावधानले झन्झटिलो बनाएको थियो । तर, मानव तस्करी गर्नेहरूले भने सहजै अध्यागमन पार गराउने गरेका थिए । तर, घुम्नकै लागि भनेर जाने कयौं यात्रुहरूले भने समस्या भोग्दै आएका थिए ।

अब नयाँ व्यवस्थाले विदेश घुम्न चाहनेहरूलाई सहज हुने ठानिएपनि मानव तस्करी गर्नेहरूले थप मौकाको फाइदा उठाउन सक्ने खतरा भने देखिन्छ ।

भिजिट भिसामा जानेले विदेशमा सिर्जित समस्याका आफै जिम्मेवार हुनुपर्ने स्वःघोषणा गर्नुपर्ने व्यवस्थालाई लिएर कतिपयले सरकार नागरिकप्रतिको जिम्मेवारीबाट पन्छिन खोजेको बताएका छन् । नेपालका दूतावास रहेका र नरहेका देशमा भिजिट भिसामा जाने जोकोही नेपाली नागरिकप्रति सरकार जिम्मेवार बन्नुपर्ने र सचेतनासहित विदेश घुम्न जानेहरूलाई प्रेरित गर्नुपर्नेमा जोड दिन थालिएको छ । यद्यपि अहिलेको व्यवस्थाले नागरिकलाई सहज हुने दाबी सरकारी अधिकारीहरूले गर्दै आएका छन् ।

अहिलेको प्राबधान
१. कम्तीमा ६ महिनाको म्याद भएको राहदानी
२. गन्तव्य मुलुकको हवाइ टिकट
३. सम्बन्धित देशको प्रवेशाज्ञा वा अनअराइभल भिसा हुने मुलुक भए भिसा नचाहिने
४. विदेशमा सिर्जित परिणाममा स्वयं जिम्मेवार रहने स्वःघोषणा

प्रतिक्रिया दिनुहोस्