Logo
Logo

भन्सार छल्न आयात गरिएको इभी चोभार बन्दरगाहमा थन्कियो


2k
Shares

काठमाडौं । बजेटअघि हतार हतार गर्दै आयात गरिएका गाडीहरूट्ठ चोभार सुख्खा बन्दरगाहमा थन्किएका छन् । विगत ६ महिनादेखि गाडी सुख्खा बन्दरगाहमै थन्किँदा व्यवसायीहरू निराश बनेका छन् ।

व्यवसायीहरूले नयाँ आर्थिक वर्षको बजेट सार्वजनिक हुनु अगावै गाडी भित्र्याउने होडबाजी नै चलाएका थिए । खासगरी विद्युतीय सवारीसाथन (इभी)मा कर बढ्ने सम्भावना रहेको हल्लाले व्यवसायीहरूबीच गाडी भित्र्याउन तछाडमछाड नै चलेको थियो । तर सरकारले चालु आर्थिक वर्ष २०८२÷०८३ को बजेट घोषणा गरेपछि चोभारस्थित सुक्खा बन्दरगाहमा नयाँ सवारीसाधनको आयातमा उल्लेखनीय गिरावट आएको छ ।

धेरै व्यवसायीहरूले सस्तो दरमा गाडी ल्याएर बजेटपछि मूल्य बढ्ने अपेक्षामा अग्रिम रूपमा ठूलो मात्रामा गाडी आयात गरेका थिए । तर सरकारले बजेटमा कर नबढाएपछि ती व्यवसायीहरूले आयात गरेका गाडीहरू अहिले पनि बन्दरगाहमा अलपत्र अवस्थामा छन् । ती गाडीहरू बिक्री हुन सकेका छैनन् ।

नेपाल इन्टरमोडल यातायात विकास समितिका अनुसार बजेटअघि आयात गरिएका सयौं गाडी हाल पनि चोभारमा स्टकमै छन् । जसकारण व्यवसायीले नयाँ सवारीसाधनको आयात पनि बढाउन सकेका छैनन् ।

चोभार सुक्खा बन्दरगाहलाई डोमेस्टिक टर्मिनल र भन्सार जाँच क्षेत्र गरी दुई भागमा विभाजित छ । डोमेस्टिक टर्मिनलमा रहेका तीनवटै गोदामहरू भरिएका छन् । पार्किङ क्षेत्रमा करिब ९५० वटा विद्युतीय सवारी साधन व्यवस्थापन गरेर राखिएको समितिले जनाएको छ ।

समितिका कार्यकारी निर्देशक आशीष गजुरेलले पछिल्ला दुई महिनामा वीरगञ्ज र तातोपानी नाकाबाट दैनिक ७ देखि १० वटा कन्टेनर तथा ट्रकहरू भन्सार जाँचका लागि आउने क्रम जारी रहेको जानकारी दिए । तर नयाँ सवारीसाधनको आयात भने सुस्त छ ।

जेठ १५ अघि बन्दरगाहमा करिब १,३०० नयाँ सवारीसाधन पार्किङमा थिए, जसमा करिब ३५० वटा मात्रै बिक्री भएका छन् । नयाँ आयातमा कमी आएपछि अहिले पुरानै स्टकका गाडीहरू बजारमा बिक्री भइरहेका छन् ।

भन्सार विभागका तथ्याङ्कअनुसार चालु आर्थिक वर्षको असोज महिनासम्म २,६६० वटा विद्युतीय सवारी नेपाल भित्रिएका छन्, जसको कुल मूल्य ६ अर्ब २५ करोड रुपैयाँभन्दा बढी छ ।

तर, बिक्री घट्दो अवस्थामा छ । दशैं–तिहारजस्ता मुख्य चाडपर्वमा पनि बिक्री गत वर्षको तुलनामा कम भएको छ । जसले गर्दा व्यवसायीहरू निराश बनेका छन् । बजेटअघि व्यवसायीहरूले ठूलो मात्रामा आयात गरेर स्टक बनाएका कारण अहिले बजारमा नयाँ माग छैन ।

सिजनमै भएको प्रदर्शनले बिगा¥यो माहोल
सवारीसाधन खरिदबिक्रीको मुख्य सिजनमै जेनजी प्रदर्शन हुँदा त्यसले गाडी किन्ने माहोल नै बिगारेको छ । भदौ २३ र २४ गतेको जेनजी प्रदर्शनपछि व्यापार व्यवसायमा ठूलो धक्का बेहोरेका छन् । प्रदर्शनका कारण सवारीसाधन खरिदबिक्रीको महत्वपूर्ण समय मानिने दसैं–तिहार अटो व्यवसायीका लागि उल्लासमय बन्न सकेन ।

चाडपर्व लक्षित अफरमार्फत् ग्राहक आकर्षण गर्नेदेखि सवारीसाधन प्रदर्शनीमा बुकिङ गरिएका गाडीको डेलिभरीमा व्यस्त हुने व्यवसायीले यसपटक सोही किसिमको अनुभूति लिन पाएनन् ।
यसअघि, गत चैत १५ गते दुर्गा प्रसाईं लगायतको समूहको आन्दोलन हिंसात्मक बन्दा पनि अटोमोबाइल क्षेत्रलाई असर पुगेको थियो ।

खासगरी, साउन २१ देखि २६ गतेसम्म भएको नाइमा नेपाल मोबिलिटी एक्स्पो र भदौ ३ देखि ८ गतेसम्म भएको नाडा अटो शोले व्यवसायीमा एक किसिमको उत्साह सिर्जना गरेको थियो । दुई प्रदर्शनीमै व्यवसायीले सकेसम्म बढीभन्दा बढी गाडी बुकिङ गराएर दशैंसम्म डेलिभरी गर्ने योजना बनाएका थिए ।

भारी छुट तथा अफर योजना ल्याएर गाडी बुकिङ गराउँदै सुरु भएको अटो व्यवसायीले दशैंमा गाडी बेच्न पाएनन् । जेनजी प्रदर्शनको प्रभाव समग्र बजारमा पर्दा अटो शोमा बुकिङ भएका गाडी दसैं अगाडि नै धमाधम रद्द हुन थालेको थियो ।

नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चर्स एशोसिएसन (नाइमा) र नाडा अटोमोबाइल्स अफ नेपाल (नाडा)को आयोजनामा भएको दुई अटो शोमा करिब आठ हजार गाडी बुकिङ भएको व्यवसायीले बताएका थिए । डेलिभरीका लागि अटो व्यवसायीले गाडी भित्र्याउने काम पनि गरेका थिए । यद्यपि, प्रदर्शनीका कारण ठूलो मात्रामा बुकिङ रद्द हुन पुग्यो ।

कति आयो गाडी ?
भन्सार विभागको तथ्यांकअनुसार चालु आर्थिक वर्ष २०८२÷८३ को तीन महिना (साउनदेखि असोजसम्म)मा ६ अर्ब २५ करोड रुपैयाँ बराबरको २ हजार ६२० युनिट विद्युतीय सवारीसाधन आयात भएको छ ।

गत वर्षको सोही अवधिमा भने ६ अर्ब १० करोड रुपैयाँ बराबरको २ हजार ५१६ युनिट विद्युतीय सवारी आयात भएको थियो । तथ्यांकअनुसार चालु आवको असोजसम्ममा ५० किलोवाटसम्मको १ अर्ब २६ करोड रुपैयाँको ७५१ युनिट आयात भएको छ । गत आवको सोही अवधिमा भने ५० किलोवाटसम्मको १ अर्ब ३९ करोड रुपैयाँको ७७२ युनिट सवारी आयात भएको थियो ।

चालु आवको असोजसम्ममा १०० किलोवाट क्षमतासम्मको ४ अर्ब २ करोड रुपैयाँको १ हजार ५४५ युनिट सवारी आयात भएको छ । गत आवको सोही अवधिमा भने १०० किलोवाटसम्मको ४ अर्ब १६ करोड ३४ लाख रुपैयाँको १ हजार ५ सय ८२ युनिट सवारी आयात भएको थियो ।

तथ्यांकअनुसार चालु आवको असोजसम्ममा २०० किलोवाटसम्मको ९५ करोड ७० लाख रुपैयाँको ३२३ युनिट सवारी आयात भएको छ । गत आवको सोही अवधिमा भने २०० किलोवाटसम्मको ५३ करोड ३८ लाख रुपैयाँको १५९ युनिट सवारी आयात भएको थियो ।

यस्तै, चालु आवको तीन महिनामा ३०० किलोवाटसम्मको ४८ लाख ४९ हजार रुपैयाँको १ युनिट सवारी आयात भएको तथ्यांक भन्सार विभागसँग छ । गत आवको सोही अवधिमा भने ३ सय किलोवाटसम्मको १ करोड ८४ लाख ८२ हजार रुपैयाँको ३ युनिट सवारी आयात भएको थियो ।

प्रतिक्रिया दिनुहोस्