Logo
Logo

नयाँ दल र स्वतन्त्रहरू एकजुट नभए सबैको भेट जेलमा हुनेछ: पुकार बम


1.3k
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वार्ता टोली संयोजक पुकार बमले नयाँ दल र स्वतन्त्र नेताहरूबीच एकता हुन नसके निकट भविष्यमा उनीहरूविरुद्ध विभिन्न गम्भीर मुद्दा दायर हुने चेतावनी दिएका छन् । पुकार बमले नयाँ शक्तिहरू नमिले पुरानै शक्तिहरू चुनावबाट फर्किने र कुलमान घिसिङ लगायतलाई भ्रष्टाचारका मुद्दा लगाउने दाबी गरेका छन् ।

नयाँ शक्तिहरूबीच भइरहेको एकताको प्रक्रियाले गती नलिइरहेका बेला बमले आइतबार सामाजिक सञ्जालबाट सो दाबी गरेका हुन् । ‘कारागार भित्र भएकै एकमात्र कारण देखाई राष्ट्रिय स्वतन्त्र पार्टी सभापति रवि लामिछानेलाई मात्र एकताको बाधक देख्दै गर्दा, भोलि नयाँ दलका अध्यक्ष कुलमान घिसिङमाथि नीतिगत संस्थागत र आर्थिक भ्रष्टाचार, सम्पत्ति शुद्धिकरण, अख्तियार दुरुपयोग, सङ्गठित अपराध, अपचलन लगायतका मुद्दा र कुलमानजी नेतृत्वको पार्टीका अन्य प्रमुख नेता भनिएका र समर्थन गरेका नेतृत्वकर्ता बालेन साह, सुमना श्रेष्ठ, सुदन गुरुङ, सागर ढकाल, सोम शर्मा लगायत माथि देशद्रोह, आतङ्कवाद प्रोत्साहन, साम्प्रदायिक दङ्गा उत्प्रेरणा,आन्दोलनमा भीडलाई उक्साएको, विध्वंस मचाएको ,आगजनी, सार्वजनिक सम्पत्ति तोडफोड, ज्यान मार्ने मुद्धा, हुलहुज्जत गरेको लगायत मुद्दा दायर पश्चात् तपाईँहरूलाई के भन्ने ?’

उनले अहिले रवि लामिछानेमाथि प्रतिशोध साँधिएको उल्लेख गर्दै त्यस्तै अवस्था अब चुनावपछि पनि आउने उनको दाबी रहेको छ । ‘मुद्दा, विचार र सिद्धान्त एक हुँदाहुँदै एक्ला एक्लै जाने हो भने अबको बाटो स्पष्ट छ-जेल भित्र । अनि त्यही कालकोठरी जेलभित्र-सानो धिपधिपे चिमको उज्यालोमा भजन किर्तन कत्थक डिस्को डान्स, नाचगान दोहोरी र र्‍याप ब्याटलको तालमा एकताको वार्ता गर्ने दिन टाढा छैन,’ उनले भनेका छन् ।

प्रतिक्रिया दिनुहोस्