Logo
Logo

आन्तरिक संकटमा प्रमुख दल


1.4k
Shares

काठमाडौं । जेन–जी आन्दोलनपछि नयाँ पुस्ताले अघि सारेको नेतृत्व परिवर्तनका कारण विघटित प्रतिनिधिसभाका ठूला दलमा आन्तरिक कहल पैदा भएको छ । कांग्रेस, एमाले, माओवादी र एकीकृत समाजवादीमा कलह शुरु भएको हो ।

एकीकृत समाजवादीले माओवादी केन्द्रसहितका दलसँग एकता गर्ने निर्णय गरेपछि सम्मानित नेता झलनाथ खनाल र महासचिव घनश्याम भुसाल पक्षले छुट्टै भेला गरेको छ । खनाल–भुसाल पक्ष पार्टी पुनर्गठनको तयारीमा लागेको छ ।

भदौ २४ पछि राजनीतिक रुपमा प्रतिरक्षामा पुगेका नेपाली कांग्रेस, नेकपा एमाले, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टीदेखि नागरिक उन्मुक्ति पार्टीसम्म आन्तरिक विवादमा परेका छन् । यद्यपि साना दलमा आएको विवादभन्दा ठूला दलमा आएको विवादले राजनीतिलाई तरल बनाइरहेको छ ।

बदलिएको राजनीतिक अवस्थामा नेतृत्व परिवर्तन गरेर जानुपर्ने बाध्यतामा रहेका दलहरूमा पुरानो नेतृत्वले सहजै छाड्ने अवस्था छैन ।

कांग्रेसको १५औं महाधिवेशन विधानअनुसार मंसिरमा गरिसक्नु पर्नेमा कहिले गर्ने भन्ने टुंगो छैन । १५औं महाधिवेशन गरेर फागुन २१ गतेको लागि तोकिएको निर्वाचनमा सहभागि हुनुपर्ने पक्षमा महामन्त्री गगनकुमार थापा, विश्वप्रकाश शर्मासहितका नेताहरू रहेपनि उनीहरुको इच्छा सहजै पुरा हुने अवस्था छैन । मंसिरभित्र नियमित महाधिवेशन गर्न नसकिए ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिको माग अनुसार विशेष महाधिवेशन गर्नुपर्ने अडानमा रहेका उनीहरूले पार्टी कार्यबाहक सभापति पूर्णबहादुर खड्कालाई हस्ताक्षरसमेत बुझाइसकेका छन् ।

पार्टी सभापति शेरबहादुर देउवानिकट नेताहरू निर्वाचनपछि मात्र महाधिवेशन गर्नुपर्ने अडानमा रहँदा असोज २८ गतेदेखि सुरू भएको केन्द्रीय समिति स्थगित हुँदै बस्दै गरिरहेको छ । नेताहरू आआफ्नो अडानमा रहँदा महाधिवेशन निर्वाचन अघि कि, पछि भन्ने विवाद कांग्रेसमा पेचिलो बन्न पुगेको छ ।

एमालेमा पनि पार्टीको नेतृत्वलाई लिएर विवाद छ । तत्कालीन प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष केपी ओलीले नेतृत्व छाड्नु पर्ने दबाब एमालेभित्र भएपनि नेतृत्व छाड्ने होइन मंसिर २७ गते हुने महाधिवेशनबाट थप अनुमोदित हुने वातावरण तय गरेका छन् । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई एमालेको सक्रिय राजनीतिमा फर्काउने विषयमा पार्टीभित्रको विवाद चुलिएपछि ओलीले विद्यालाई पार्टीमा आउन नै रोकिदिएका छन् ।

दश वर्षे जनयुद्धपछि आन्दोलनसहित शान्तिप्रक्रियामा आएको माओवादी केन्द्र अन्य कम्युनिस्ट पार्टीसँग एकीकरणको गृहकार्यमा जुटेपनि आफ्नै पार्टीका सचिवालय सदस्य जनार्दन शर्माले माओवादीको पुनर्गठन भन्दै नयाँ दल खोल्ने तहमा पुगेका छन् ।

शर्मासहितका नेताहरू प्रचण्डबाट माओवादी नेतृत्व बाहिर ल्याउने पक्षमा उभिंदै आएपछि नेपालको प्रवेश हुन लागेको हो । पार्टीभित्र नेतृत्व पुनर्गठन र रूपान्तरणको प्रश्न उठाउँदै उनले बृहत् वामपन्थी एकताको आवश्यकता औल्याएका छन् । पार्टी महाधिवेशन आयोजन समितिको सचिवालय बैठकमा उनले एकताले विगतदेखि कम्युनिस्ट आन्दोलनले भोग्दै आएको विघटनको इतिहासलाई दोहो¥याउने जनाएका छन् ।

माओवादीको आधार स्तम्भको रूपमा रहेका शहीद, बेपत्ता, घाइते योद्धाहरूको सपना, त्याग र आकांक्षालाई बेवास्ता गर्ने भन्दै उनले शनिबारको बैठकपछि सञ्चारकर्मीसँग भने, ‘यो प्रक्रिया वास्तविक समाधान होइन, कम्युनिस्ट आन्दोलनको बिघटनको बाटो रोजेको छ ।’

२०७९ को निर्वाचनअघि मात्र उदाएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)भित्र पनि आन्तरिक विवाद बढ्दै जाँदा विग्रहको अवस्था आएको छ । पार्टी अध्यक्ष रवि लामिछाने हिरासतमा परेसँगै त्यस पार्टीमा बढ्दै गएको विवाद साम्य भएको छैन ।

वर्तमान उर्जामन्त्री कुलमान घिसिङलाई पार्टीमा ल्याउनेदेखि आन्तरिक कार्यसम्पादनलाई लिएर पार्टीभित्र मतभेद बढ्दै गएको छ । सोहीक्रममा नेतृ सुमना श्रेष्ठ रास्वपाबाट अलग भइसकेकी छिन् । आफूले पार्टी पुनर्गठन र सुधारको विषय उठाउँदा पार्टी छाडेर जाने भाष्य निर्माण गरिएको भन्दै तोसिमा कार्कीले सार्वजनिक रुपमै गुनासो गर्दै आएकी छिन् । सुमनाको नेतृत्वमा नयाँ दलको तयारी भैरहेको छ । जसमा काठमाडौं महानगरपालिका मेयर बालेन्द्र साहको पनि समर्थन रहने बताइएको छ ।

त्यस्तै, सिके राउत नेतृत्वको जनमत पार्टीदेखि रञ्जीता श्रेष्ठ नेतृत्वमा रहेको नागरिक उन्मुक्ति पार्टी (नाउपा) फुटिसकेको छ । दुबै दलका नेताहरूले अलग र फरक दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएका छन् ।

निर्वाचन आयोगमा दल दर्ताका लागि केहीदिन अघि मात्र निवेदन दिएको नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी नेपालका केही नेताहरूले पार्टीबाट अलग हुने घोषणा गरेका छन् । संसदीय राजनीतिमा रहेका दलका शीर्ष नेताहरू आत्मकेन्द्रित भएकाले कलह उत्पन्न भएको युवा नेताहरूको दाबी छ ।

प्रतिक्रिया दिनुहोस्