काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आगामी पुस १६ देखि १९ गतेसम्म १५औँ महाधिवेशन गर्ने प्रस्ताव अघि सारेका छन् । पार्टीको जारी केन्द्रीय कार्यसमिति बैठकमा उनले यस्तो प्रस्ताव गरेका हुन् ।

बैठकमा थापाले पुस १६-१९ लाई महाधिवेशन मिति बनाउन आग्रह गरेका हुन् । यसअघि सोमबार नयाँ बानेश्वरमा बसेको संस्थापन पक्षीय भेलाले भने वैशाख २५-२८ गते महाधिवेशन गर्ने निर्णय गरेको थियो । उक्त निर्णय केन्द्रीय समितिमा पेस गरिने भएको छ ।
संस्थापनइतर समूहले भने प्रतिनिधिसभा निर्वाचनअघि नै नियमित वा विशेष महाधिवेशन गर्नुपर्ने अडान कायम राखेको छ । उनीहरूले विशेष महाधिवेशनका लागि आवश्यक ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिको हस्ताक्षरसमेत कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई बुझाइसकेका छन् ।









