काठमाडौं । नेकपा (माओवादी केन्द्र) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले एमालेका पूर्वउपाध्यक्ष डा. भीम रावललाई पनि नयाँ एकता प्रक्रियामा समेट्ने प्रयास अन्तिम चरणमा पुगेको बताएका छन् ।

मङ्गलवार प्रज्ञाभवन कमलादीमा बसेको महाधिवेशन आयोजक समिति बैठकलाई सम्बोधन गर्दै उनले भने, ‘यो माओवादीको अन्तिम बैठक हो । भोलि ऐतिहासिक एकता हुँदैछ । विगतमा छुट्टिएका सबै कडीहरू जोडिनेछन् । डा. भीम रावलजी पनि भोलिको एकतामा सामेल हुनुहुने कुरा लगभग पक्का भइसकेको छ ।’
प्रचण्डले यो एकता समाजवादी क्रान्तिको नयाँ युगको थालनी हुने विश्वास व्यक्त गरे । भोलि (बुधवार) माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी) लगायतका कम्युनिष्ट घटकहरूबीच औपचारिक एकता घोषणा हुँदैछ ।









